देवचुली,
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ बार्षिक साधारण सभा तथा माइन्युट प्रमाणीकरण सभा सम्पन्न भएको छ । शुक्रबार देवचुली नगरपालिका वडा नं १३ मा रहेको देवचुली पार्टी प्यालेसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रुपमा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने रहनुभएको थियो । शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि न्यौपानेले मध्य नेपाल सहकारीले पछिल्लो समयको रफ्तार र शेयर सदस्यको भावना अनुरुप काम गर्न सकेकोमा बधाई ब्यक्त गर्नुभयो । सहकारी प्रति देशब्यापी हलचलको स्थितिको बावजुत सदस्यहरुको मन जित्न सफल भएकोमा मध्य नेपाल सहकारीको प्रशंसा गर्नुभयो । उहाँले सहकारी प्रति नगरपालिकाले गर्नुपर्ने कर्तव्य पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
देवचुली नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्लेले समग्रमा सहकारीले राम्रो प्रगति गरेको बताउनुहुँदै अबका दिनहरुमा पनि चुक्न नहुँने बताउनुभयो ।
त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष तिलक प्रसाद पराजुलीले सहकारी सन्चालनको बिषय संवेदनशिल रहेको बताउनुहुँदै शेयर सदस्यले एक क्लिकमा सबै जानकारी पाउने गरि अपडेट गराउनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले नगरपालिकाले पनि सहकारी प्रतिको नियमन गर्न नगरप्रमुख समक्ष आग्रह गर्नुभयो । पुर्व अध्यक्ष नरदेव न्यौपानेले सहकारीले आफ्ना सम्पुर्ण कारोवार पारदर्शी राख्नुपर्नेमा जोड दिनुभयो । “ब्याड न्युज रन फास्ट” हुने पछिल्लो समयको प्रवृत्ति रहेको बताउनुहुँदै सहकारीको साख जोगाउन थप इमान्दार र अनुशासित भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । संस्था चलाउन कर्मचारीको भुमिका महत्वपूर्ण हुने हुँदा कर्मचारीको स्थायीत्व र सेवा सुबिधामा ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।
सल्लाहकार समितिका सदस्य डिल्लीराम कडरियाले संस्थाको इतिहासदेखि हालसम्मको स्थिति हेर्दा मध्य नेपाल सहकारी गौरव गर्न लायक बनेको भन्दै कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्न सुझाव दिनुभयो । साथैे संस्थाका सल्लाहाकार धर्मदत्त भुसाल, निर्वाचन समितिका संयोजक खिमानन्द भुसाल, पुर्व लेखा समिति संयोजक यदुनाथ काफ्ले, महिला कल्याण बहुउद्देशीय सहकारी संस्थाकी अध्यक्ष सरिता शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारण सभाको अवसरमा उठेका जिज्ञासाको जवाफ दिनुहुँदै सहकारीका अध्यक्ष तुलमणी पौडेलले संस्था संचालनको क्रममा आएका सुझावलाई सिरोधार्य गर्दै सहकारीलाई थप ब्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सिकाईको शिलशिला जीवन पर्यन्त रहने बताउनुहुँदै मध्य नेपाल सहकारी पनि अपग्रेड हुँदै शेयर सदस्यहरुको हितमै कार्य गरिरहेको स्पष्ट पार्नुभयो । संस्थाबाट उपभोक्ताले पाउनुपर्ने सूचना प्रदान गर्न संस्था तयार रहेको बताउनुभयो । साधारण सभामा उपस्थिति भए बापत शेयर सदस्यहरुलाई सिमित रकम प्रदान गर्नुभन्दा कथम कदााचित दुर्घटना हुन गएमा १ लाख सम्मको उपचार सुबिधा प्रदान गर्ने ब्यवस्था बनाइएको बताउनुभयो । संस्थाको शुद्धिकरण र सुदृढीकरणको योजनालाई एकैसाथ अबलम्बन गरि विनियम संसोधनलाई पारदर्शी बनाइने पौडेलले बताउनुभयो ।
संस्थाको शेयर सदस्य रही अधिकतम पुजीँ फिर्ता पाउने अपाङ्ग सदस्य तिल प्रसाद भट्टराई सहित उत्कृष्ट ब्यबसायी सदस्य लगायत अन्य उत्कृष्ट शेयर सदस्यहरु र एसइईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको छ ।
सो अवसरमा शेयर सदस्य चनुहरी अर्याल, भानु कंडेल, आदर्श सुशील, श्याम शर्मा भुसाल, देवी सापकोटा, कृष्ण रिजाल लगायतले सुझाव राख्नुभएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसालले प्रस्तावित कार्यक्रममा शेयर सदस्य र सरोकारवाला बीच छलफल गराई सर्वसम्मतले पारित गराउनुभएको थियो ।
उपस्थित सम्पुर्णमा सहकारीका उपाध्यक्ष प्रेमा खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन संस्थाका सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो ।