देवचुली
“आर्थिक विकास र स्वरोजगारः समृद्ध देवचुली निर्माणको आधार” सभ्य समाजको आधार, जेष्ठ नागरिक मैत्री घरपरियार भन्ने मुल नारा सहित जेष्ठ नागरिक र सरोकारवाला बीच अन्तरक्रिया तथा असल संरक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । चौथो ज्येष्ठ नागरिक दिवसका अवसरमा देवचुली नगरपालिकाको आयोजना र नगरस्तरीय जेष्ठ नागरिक संघको समन्वयमा बिहिवार साहारा पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता नगर स्तरीय जेष्ठ नागरिक संघ देवचुलीका अध्यक्ष खडानन्द भुसालले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै न्यौपानेले ज्येष्ठ नागरिक हाम्रा छहारी भएको बताउनुहुँदै उहाँहरुको संरक्षणमा परिवार, समुदाय र सरोकारवाला चनाखो हुनुपर्नेमा जोड दिनुभयो । ज्येष्ठ नागरिकहरुलाई पनि उत्पादन संग जोड्न सकियो भने अशक्त हुँदा परिवारको मात्र आश्रयमा बस्न नपर्ने बताउनुहुँदै न्यौपानेले नगरपालिकालाई पनि ज्येष्ठ नागरिकप्रतिको जिम्मेवारी वोध रहेको जिकिर गर्नुभयो ।
सो अवसरमा ज्येष्ठ नागरिकहरुले आँफुहरुप्रति परिवार, समुदाय र सरकारी तहबाट पनि सम्मानपूर्ण व्यवहार नभएको गुनासो गरेका छन् । स्थानीय तहले ज्येष्ठ नागरिकमैत्री कार्यक्रम नल्याएको भन्दै जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिक सबै तिरबाट पन्छाईएको भन्दै आक्रोश समेत व्यक्त गरे । बेलाबेला ज्येष्ठ नागरिकका कुरा सुन्ने र वृद्धवृद्धाहरु एकआपसमा भेला भै भलाकुसारी गर्ने बातावरण निमार्ण गरिदिन आग्रह गरेका छन ।
अन्तरक्रियामा देवचुली ७ की वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक भुमिसरा आले, देवचुली नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति सदस्य फूलमाया वि.कले ज्येष्ठ नागरिकका मागहरुमा ऐक्यवद्धता जनाउनुभएको छ ।
चौथो ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरपालिकाका प्रत्येक वडाबाट २ जना गरी कुल ३४ जना असल संरक्षकलाई सम्मान समेत गरिएको छ । अन्तरक्रिया कार्यक्रमको सहजीकरण अधिवक्ता गणेश प्रसाद सापकोटाले गर्नुभएको थियो ।
नगरस्तरिय ज्येष्ठ नागरिक संघका उपाध्यक्ष कमला भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिरकरण देवचुली नगरपालिकाका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बिमला लम्सालले गर्नुभएको थियो ।