गैँडाकोट
गैँडाकोट १६ मा रहेको युनिक सेकेन्डरी इङ्ग्लिस स्कुलले मङ्गलबार बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। एनसीसी ५० औँ ब्याचको २१ दिने क्याम्पमा सहभागी भएर बेस्ट प्लाटुन सहित विविध विधामा पुरस्कृत भएर क्याडेट्सहरु विद्यालय फर्किए सँगै उनीहरूलाई बधाई तथा सम्मान गरिएको हो। गैँडाकोट नगरपालिकाको उप प्रमुख शान्तिदेवी कोइरालाको प्रमुख आतिथ्यता सँगै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो।
विद्यालयमा गत असार १७ गते देखि सुरु भएको एनसीसी तालिममा सहभागी ३६ जना विद्यार्थीहरूले २१ दिने क्याम्पमा आफ्नो प्रस्तुति दिँदै विद्यालय फिर्ता आए सँगै यो कार्यक्रम गरिएको विद्यालयकी एकेडेमिक हेड सिता भण्डारीले बताउनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले विद्यालयले विद्यार्थीको चौतर्फी विकासको लागि सदैव अरु भन्दा पृथक तरिकाले विभिन्न कार्यक्रमहरू ल्याउने क्रममा ल्याइएको एनसिसिले गत वर्ष र यस वर्ष सोचे अनुरूप सफलता मिलेकोमा खुसी लागेको बताउनुभएको थियो।
प्रिन्सिपल शर्माले गत वर्ष एसयुओ पदवी प्राप्त गर्दै रोशनी सारुले भुटान जाने अवसर पाएकोमा अत्यन्त खुसी लागेको बताउँदै यस वर्ष समेत जुनु तामाङले एसयुओ , डेविड रसाइलीले सिजेयुओ र साधना शर्माले पिजेयुओ पदवी प्राप्त गर्दै अर्को वर्ष समेत सुनौलो अवसर प्राप्त भएकोमा बधाई दिनुभएको थियो। उहाँले विद्यालयमा एनसिसी कार्यक्रम सञ्चालन भएदेखि हरेक दिन बेस्ट प्लाटुनको कल्पना गर्दै आफुले गरेको तयारीले सार्थकता पाएकोमा यो सफलता हासिल गर्न साथ र हौसला दिने सम्पूर्णमा आभार व्यक्त गर्दै अर्को वर्षको एनसिसीमा समेत यस्तै नतिजा ल्याउने प्रतिवद्धता गर्नुभएको थियो।
कार्यक्रममा हात्तीखोर ब्यारेकका मेजर बिदुर न्यौपाने , गैँडाकोट १६ का वडा अध्यक्ष बिनोद मल्ल , गैँडाकोट १५ का वडा अध्यक्ष प्रेमराज तिमिल्सेना , गैँडाकोट १७ का वडा अध्यक्ष गोपी कँडेल , शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठ , नेपाल शिक्षक महासङ्घ नवलपुरका अध्यक्ष तथा बरचुली माविका प्रधानाध्यापक चन्द्रदेव तिवारी , गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद अधिकारी , गैँडाकोट प्याब्सनका अध्यक्ष भरतबाबु कँडेल , विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीहरू , विद्यालयकी एकेडेमिक हेड सिता भण्डारी लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।
बिधालय प्राङ्गणमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै गैँडाकोट नगरपालिकाका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शान्तिदेवी कोइराला , शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठ , सम्पूर्ण वडाको प्रतिनिधित्व गर्दै गैँडाकोट १७ का वडा अध्यक्ष गोपी कँडेल लगायतले विद्यालयले आफ्नो नाम जस्तै काम गरेकोमा खुसी व्यक्त गर्दै समग्र नगरपालिका र जिल्लाको नाम उच्च राख्न सफल भएकोमा विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्मालाई विशेष धन्यवाद दिँदै सम्पूर्ण क्याडेट्सहरुलाई बधाई दिनुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले यस वर्षको एनसीसी ५० औँ ब्याचले २१ दिने क्याम्पमा काठमाण्डु , चितवन , नवलपुर , भक्तपुर , मकवानपुर , पर्सा लगायतका जिल्लाको नाम कहलिएका विद्यालयहरूलाई पछि पार्दै आफूलाई अब्बल सावित गरेकोमा सम्पूर्ण क्याडेट्स तथा अभिभावक , समन्वय शिक्षक कलावती शर्मालाई सम्मान पत्र सहित र नृत्य प्रशिक्षक अमृत राना , प्रशिक्षण धर्मराज जोशी द्वयलाई मायाको चिनो प्रदान गरी सम्मान पत्र गरिएको थियो।