मध्यबिन्दु,
बालबालिकाको समग्र बिकासको लागि अभिभावकहरु जिम्मेवार हुनुपर्ने र यसको लागि अभिभावक शिक्षा सन्चालन गर्नुपर्ने बर्तमानको आवश्यकता रहेको मध्यबिन्दु ६ का सरोकारवालाले अन्तरकृया र छलफल कार्यक्रममा बताएका छन ।
आज मध्यविन्दु वडा नं ६ को वडा कार्यालयमा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, मध्यविन्दु वडा नं ६ को वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वय र सहकार्यमा किशोरी अधिकार, बाल अधिकार र बालमैत्री स्थानिय शासन सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रममा सो बताएका हुन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका विन्दु वि।क ले जिल्ला भित्र बालबालिका, किशोरकिशोरी, महिला तथा जेष्ठ नागरिक माथी हुने विभेद, लैंगिक हिंसा, दुर्व्यवहारको अवस्था बारे सहजीकरण गर्नुभएको थियो ।
साथै उहाँले सामाजिक संजालको दुरुपयोगले पारेको नकारात्मक प्रभावहरु, बाल विवाह, बहु विवाह र लागुपदार्थ दुर्व्यसनले निम्त्याएका समस्याहरु र समस्या समाधानका लागि गर्दै आएका अभ्यासहरुको बारेमा जानकारी दिनुभएको थियो ।
बिशेष गरेर अभिभावकहरु र सरोकारवालाहरु समस्याहरु समाधानका लागि उमेर अनुसार बालबालिकाहरुलाई व्यवहारिक कुरा सिकाउन, अभिभावकहरुले एकअर्काको भावनाको कदर गर्न, आमाबुबाले आफ्ना बालबालिकाको गतिविधिमा ध्यान र सयय दिन, सबैले कानुन प्रती जिम्मेवारी र उत्तरदायी भएर सहयोग गर्न समेत सुझाव दिनु भएको थियो ।
किशोरी अभियन्ता रितु घर्तीमगरले मध्यबिन्दु नगरपालिकामा सन्चाकिशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत ३० जना किशोरी साथी शिक्षकहरुले बिभिन्न तालिमहरु लिई समुदायस्तर र विद्यालयमा आफ्नै उमेर समुहकालाई सिकाउँदै आएको बताउनुभयको थियो ।
उहाँले कार्यक्रममा जोडिए पछि आफुलाई मानिसहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको र अहिले समाजले आफुलाई एउटा किशोरी र छोरीको रुपमा मात्रै नभई वर्तमानको समयमा परिवर्तनको संवाहकको रुपमा हेर्ने गरेको भनेर खुसी व्यक्त गर्नुभयो ।
बालबालिका किशोरकिशोरीहरुको समस्याहरुको समाधानको लागि टोल र समुदायमा बालबालिका र अभिभावक लक्षित विभिन्न कार्यक्रममा सहजीकरण गर्नको लागि साथी शिक्षकहरुसँग समन्वय सम्पर्क गर्नको लागि समेत अनुरोध गर्नु भएको थियो ।
जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक सापकोटाले विशेष गरि किशोरकिशोरीको गतिविधिहरुमा अभिभावकहरुले कम निगरानी राख्नाले सामाजिक संजालको बढी प्रयोगले समस्या बढ्दै गएको बताउनु भएको थियो ।
नव क्षितिज विकास परिषद्का अध्यक्ष धर्मराज लुँइटेलले समाजका जान्ने बुझ्ने जिम्मेवार मानिसहरुले पनि आफ्ना बालबालिकाहरुलाई मोबाइल प्रयोग गर्न उत्प्रेरित गरिरहेको र बालबालिकालाई गुणस्तरीय समय दिन नसक्नाले बालबालिकामा समस्याहरु देखियको बताउनुभयो ।
साथै उहाँले बालबालिकाहरुलाई सहि बाटोमा हिँडाउनको लागि पहिले अभिभावकहरु नै सचेत भई आफ्नो भुमिका निर्वाह गर्नु पर्ने सुझाव दिनु भएको थियो ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरुले वडा भित्र बालबालिकाहरुमा सामाजिक संजालको बढी प्रयोग, बाल विवाह, लागु पदार्थको दुर्व्यसन जस्ता समस्याहरू रहेकाले टोलटोल र विद्यालयहरुमा अभिभावक र बालबालिकाहरु लाई कार्यक्रम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा मध्यविन्दु वडा नं ६ का वडाअध्यक्ष लाभ प्रसाद पाठकले वडा भित्रको अभिभावकहरुलाई सक्षम बनाउन जनप्रतिनिधिहरुको साथमा रहेको भनी आस्वस्त पार्नुभयको थियो ।
अभिभावकहरुले पनि गलत र सहि बुझेर सचेत भएमा र आफ्ना समस्याहरु खुलेर राख्न बोल्न घरमा सहि बाताबरण सृजना गर्न सकेमा हिंसा दुर्व्यवहारबाट सुरक्षित हुन सकिने र यो संदेश घर घरमा पुर्याउन आवश्यक रहेको बताउनु भएको थियो ।
साथै उहाँले कार्यक्रममा सिकेका कुराहरुलाई समुदायमा एकले अर्कालाई सिकाउन र प्रचार प्रसार गर्न समेत अनुरोध गर्नु भएको थियो ।
उक्त कार्यक्रम मध्यविन्दु वडा नं ६ का जनप्रतिनिधिहरु, वडा शिक्षा समितिका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख तथा स्वास्थ्य स्वंयम सेविकाहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समूह र महिला समुहका प्रतिनिधिहरु, कृषि समुहका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु, युवाक्लव र बालक्लवका प्रतिनिधिहरु, अभिभावकहरु, बाल क्लब र अन्य संघसस्थाका प्रतिनिधिहरु गरि ४७ जनाको उपस्थिति रहेको थियो ।