गैँडाकोट
गैँडाकोट १६ मा रहेको युनिक सेकेन्डरी इङ्ग्लिस स्कुलले आज सोमबार विजय उत्सव मनाएको छ। एनसीसी ५० औँ ब्याचको २१ दिने क्याम्पमा सहभागी भएर बेस्ट प्लाटुन सहित विविध विधामा पुरस्कृत भएको खुसियालीमा विद्यालयले आज विजय उत्सव मनाएको हो।
विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माको संयोजकत्वमा मनाइएको विजय उत्सवलाई बिधालय प्राङ्गणबाट पन्चे बाजा सहित ८ नम्बर चोक , दाताराम चोक , गैँडाकोट १६ र गैँडाकोट १७ को वडा कार्यालय , गैँडाकोट १४ को वडा कार्यालय , सालघारी , भागर , बुद्धचोक , बेलबास ,गैँडाकोट १५ को वडा कार्यालय , १६ नम्बर चोक , १७ नम्बर चोक हुँदै पुन विद्यालयमा आएर समापन गरिएको थियो।
कक्षा ६ देखि १० सम्मका विधार्थीहरु सहभागी भएको विजय उत्सवमा ४९ औँ ब्याचको एसयुओ रोशनी सारु मगर सहित ५० औँ ब्याचको एसयुओ जुनु तामाङ्ग , सिजेयुओ डेविड रसाइली , पिजेयुओ साधना शर्मा लगायतलाई फूलमाला र अबिरले सम्मान गर्दै नगर परिक्रमा गराइएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले यस वर्षको एनसीसी ५० औँ ब्याचले २१ दिने क्याम्पमा काठमाण्डु , चितवन , नवलपुर , भक्तपुर , मकवानपुर , पर्सा लगायतका जिल्लाको नाम कहलिएका विद्यालयहरूलाई पछि पार्दै बेस्ट प्लाटुन ( विद्यालय ) , एस यु ओ , सिजेयुओ , पिजेयुओ सहित १७ वटा दर्ज्यानी , १५ सय मिटर दौडमा प्रथम , भलिबल दुवै ( छात्रा / छात्र ) मा द्वितीय , सामूहिक नृत्यमा द्वितीय , स्यान्ड मोडल ब्रिफिङ र पब्लिक स्पिकिङ्गमा संयुक्त पाँचौ , ड्रिल , पिटी , अनुशासन र सहभागितामा सर्वोत्कृष्ट , लिखितमा प्रथम र द्वितीय हुँदै युनिक विद्यालयको नाम , काम र परिणाम सबै युनिक छ भन्ने कुराको प्रमाणित भएको बताउनुभएको थियो।
प्रिन्सिपल शर्माले क्याम्पमा सहभागी जुनु तामाङले एसयुओ प्राप्त गर्दै आगामी वर्ष वैदेशिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गरेकोमा बधाई व्यक्त गर्नुहुँदै सम्पूर्ण क्याडेट्स सहित प्रशिक्षक धर्मराज जोशी र केशव सोमै सहित समन्वय शिक्षक कलावती शर्मालाई व्यक्तिगत तथा संस्थागत रुपमा आभार व्यक्त गर्नुभएको थियो।
आज सम्पन्न विजय उत्सवमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद सापकोटा , सल्लाहकार समिति सदस्य प्रेम राज तिमिल्सेना , विद्यालय व्यवस्थापन समितिका सदस्यहरू ओमराज गुरुङ , सृजना कँडेल , राधा काफ्ले , शिक्षक अभिभावक सङ्घका सदस्यहरू भगवान पुरी , निर्मला रामदाम , बाबुराम कँडेल , प्रशिक्षक धर्मराज जोशी , एकेडेमिक हेड सिता भण्डारी , नृत्य निर्देशक अमृत राना , भलिबल प्रशिक्षकहरू सँगै स्थानीय आमा समुह तथा लायन्स क्लबका पदाधिकारीहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै गैँडाकोट १७ का वडा अध्यक्ष गोपी कँडेल , गैँडाकोट १६ का कार्य वाहक अध्यक्ष देवी अधिकारी , गैँडाकोट १४ का वडा अध्यक्ष कोकिसरा राना , गैँडाकोट १५ का वडा अध्यक्ष प्रेमराज तिमिल्सेना लगायतले विद्यालयले हासिल गरेको यो सफलताले यस क्षेत्रकै नाम र शान बढेकोमा विद्यालय परिवारलाई बधाई सँगै शुभकामना व्यक्त गर्नुभएको थियो।
विधालयको कक्षा १० मा अध्ययनरत विधार्थी रोशनी सारुले गत वर्षको क्याम्पमा सहभागी भएर एसयुओ पदवी प्राप्त गरे संगै गत डिसेम्बर १७ मा भुटानको नेशनल डे सेलेब्रेसनमा सभागी हुने अवसर प्राप्त गरेको थिइन्।