देवचुली,
मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विभिन्न सेवा केन्द्र अन्तर्गतको साधारण सभा संचालन भैरहेको छ । सोमबार देवचुली नगरपालिका १३ मा रहेको साहारा पार्टी प्यालेसमा परोपकार सेवा केन्द्र, दिब्यपुरी सेवा केन्द्र, शुभकामना सेवा केन्द्र र देवचुली सेवा केन्द्रको साधारणसभा सभा संयुक्त रुपमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता परोपकार सेवा केन्द्र व्यवस्थापन उप–समितिका संयोजक क्याप्टेन शेर बहादुर केसीले गर्नुभएको थियो । 
साधारण सभाको प्रमुख आतिथ्यता देवचुली नगरपालिका वडा नं ११ का वडाध्यक्ष तथा नगर प्रवक्ता तिल प्रसाद काफ्लेको रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले आम नागरिकहरुमा सहकारी प्रति वितृष्णा जागिरहेको तर पछिल्लो समयमा मध्य नेपाल साकोसले उपभोक्ताको मन जित्न सकेकोमा बधाई ज्ञापन गर्नुभयो । देवचुलीमा भएका २५ वटा सहकारी मध्ये सरकारबाट एक्सेस प्राप्त गर्ने सहकारी मध्य नेपाल सहकारी मात्र भएकोले पनि यो सहकारीमा आबद्ध हुनको लागि सुरक्षित रहेको बताउदै यसको भविष्य उज्जवल रहेको जिकिर गर्नुभयो । 
संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेलले सहकारीले भावना भन्दा माथी उठेर ऎन र नियम भित्र रहेर कार्य संचालन गरिरहेको बताउनुभयो । संस्थालाई सहि ढंगले संचालन गर्नको लागि ४ बर्षे रणनिती बनाएर कार्य सन्चालन गरिरहेको जानकारी गराउनुभयो । उहाँले संस्थाले मासिक रुपमा संस्थाको गतिविधि प्रस्तुत गरिरहेको बताउनुहुदै सहकारीमा उपभोक्ता र सहकारीकर्मीको इमानदार पुर्वक सहकार्यका कारण सहकारी यो क्षेत्रको उत्कृष्ट सहकारीको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी नवलपुरका सचिब मेघराज पौडेल, जनज्योति महिला उधमी समुहकी अध्यक्ष धर्मा न्यौपाने, जिल्ला बचत संघका सचिव देवराज पौडेल, सह-सचिव नारायण प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभाको अवसरमा लोक तथा दोहोरी गायिका सपना परियारले आफ्नो प्रस्तुती राख्नुभएको थियो । 
साधारण सभामा सचिवको प्रतिबेदन सहकारीका सचिव डिलाराम पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिबेदन सहकारीका कोषाध्यक्ष जगन्नाथ अर्यालले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिका सदस्य अन्जु लुइँटेलले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
उपस्थित सहभागीहरुलाई सहकारीका देवचुली सेवाकेन्द्र व्यवस्थापन उप-समितिका संयोजक रेशमलाल चापागाईंले स्वागत मन्तब्य मार्फत् स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दिव्यपुरी सेवाकेन्द्रका संयोजक श्री अनिल बस्ताकोटीले गर्नुभएको थियो ।
