कावासोती,
गत शनिबार देखि सुरु भएको कावासोती नगरपालिकामा अवस्थित शिव नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । (हिजो) आइतबार शिव नमूना मा.विमा जिल्लाका विभिन्न पालिकाका विद्यालय बिच विभिन्न प्रतियोगिताहरु सम्पन्न भएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसरमा वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता संचालन गरेको थियो ।
आइतबार गण्डकी प्रदेशका कृषि तथा भूमि सुधार मन्त्री पद्यमा जि.सीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक एवम् बिधालय व्यवस्थापन समितका अध्यक्ष विष्णु प्रसाद पाण्डेले गर्नुभएको थियो । प्रतियोगितामा जिल्लाभरका विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको विद्यालयका इ.सि.ए. कोअर्डिनेटर अर्जुन प्रसाद रायमाझीले बताउनुभयो ।
आधारभूत तह चित्रकला प्रतियोगिता
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको आधारभूत तह चित्रकला प्रतियोगितामा कावासोतीको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका ओजा शर्मा चापागाईं प्रथम, कावासोती ८ को नोवल एकेडेमीका सबु ढकाल द्धितीय, सरस्वती नमूना विद्यालयका रासी श्रेष्ठ तृतीय र रजहरको वाइज भिजन बोर्डिङ स्कुलको इभा गुरुङ सान्तवना हुन सफल भएका छन् । विद्यालर्थीलाई हाम्रो कावासोती हाम्रो संस्कृति विषयमा रहेर चित्र बनाउन आग्रह गरिएको थियो ।
माध्यमिक स्तरीय हाजिरीजवाफ प्रतियोगिता
विद्यालयले आइतबार नै माधयमिक स्तरीय हाजिरीजवाफ प्रतियोगिता संचालन गरेको थिया । जसमा विभिन्न पालिकाबाट विद्यालयको सहभागिता रहेको थियो । हाजिरी जवाफ प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पस प्रथम हुन सफल भएको छ । यसैगरि कावासोतीको लर्ड बुद्ध एकेडेमी द्धितीय र देवचुलीको सकलादेवि माध्यमिक विद्यालय तृतीय हुन सफल भएको थियो ।
माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता
माध्यमिक तहको वक्तृत्वकला प्रतियोगितामा दर्शिका पाण्डे प्रथम, जनता मा.वि सहिदनगरकी सम्झना शाह द्धितीय, सिद्धार्थ आवासीय मा.वि कावासोतीकी मनिसा थापा तृतीय र ज्ञनोदय मा.वि कावासोतीकी हिमांशु भट्टराई सान्तोना हुन सफल भएकी छिन् । वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले “इम्प्याक्ट अफ टेक्नोलोजी अन सोसाइटी” (प्रविधिले समाजमा पारेको प्रभाव) शीर्षकमा आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका थिए ।
आधारभूत तह चित्रकला प्रतियोगिता र माध्यमिक स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेलाई २ हजार, द्धितीयलाइ १ हजार ५ सय र तृतीयलाई १ हजार नगद, प्रमाणपत्रले सम्मान गरिएको छ । यसैगरि माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितीयलाई ३ हजार ५ सय र तृतीयलाई ३ हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । उक्त आधारभूत तह चित्रकला प्रतियोगितामा शिक्षक सन्त राठी र माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगितामा लुम्बिनी आदर्श डिग्री कलेजका प्रध्यापक कमला राना र पत्रकार आदर्श सुशिल निर्णायकका रुपमा रहनुभएको थियो । विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्तुत गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ ।