देवचुली
सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड देवचुली ३ को २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार संस्थाको कार्यालय परिसरमा संस्थाका अध्यक्ष दूपनारायण पौडेलको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सहसचिव नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सहकारी संस्थाहरूले सेयर सदस्यको बचत सङ्कलन मात्र नभई उद्यमशीलतामा लगानी गर्नुपर्ने र सफल उद्यमीहरूलाई उदाहरणको रुपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लालीमा कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद पोख्रेल, देवचुली नगर सहकारी सञ्जालकी अध्यक्ष रेणुका बस्ताकोटी, जिल्ला सहकारी सङ्घका सचिव देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष शरदप्रसाद घिमिरे, वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल र शेयर सदस्यको तर्फबाट सुरेन्द्र राज अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष दुपनारायण पौडेलले अध्यक्षको प्रतिवेदन ,सचिव पुरुषोत्तम गैरेले सचिवको प्रतिवेदन र लेखा संयोजक धनप्रसाद रिजालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाका चार जना ज्येष्ठ शेयर सदस्य, एकजना अधिक बाल बचतकर्ता, एकजना अधिक निक्षेपकर्ता र दुईजना असल ऋणीलाई सम्मान गरिएको थियो।
सो अवसरमा संस्थाको छात्रवृत्ति कोषबाट सकलादेवी माध्यमिक विद्यालय, नेपाल नमुना माध्यमिक विद्यालय र शान्ति सिर्जना आधारभूत विद्यालयका एक छात्र र एक छात्रा गरी ६ जनालाई छात्रवृत्ति वितरण गरिएको थियो। कार्यक्रमको औपचारिक सत्रमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो। संस्थाका उपाध्यक्ष प्रदिपराज घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाका सचिव पुरुषोत्तम गैरेले गर्नुभएको थियो।