देवचुली
देवचुली नगरपालिका १५ प्रगतिनगरमा सञ्चालन भैरहेको सन्त सम्मेलनमा सहभागी सन्त महाजनले हरि नाम जप्नको लागि घर नै छोड्नुपर्छ भन्ने नभएको बताउनुभएको छ ।
आफ्ना दैनिक कर्ममा भगवानको नाम मिसाउन सकियो भने त्यसले नै यस जन्म र मरणोपरान्त पनि मुक्ति प्रदान गर्ने उहाँहरूको भनाई छ । मानव चोला प्राणीजगतमा सर्वोत्कृष्ट चोला भएकोमा यसै चोलामा मानवले शरीर र ८४ जन्मको चक्रबाट मुक्ति पाउने कर्म गर्नुपर्ने बताउनुभयो ।

शनिबारको सत्रमा स्वामी सच्चिदानन्द सरस्वती महाराज, महेश आश्रम बाट आउनुभएका श्री १००८ स्वामी रमणानन्द गिरि महाराज, श्री विद्धष्प्रवर फणिन्द्र पौडेल , पोखरा केदारेश्वर मन्दिरबाट पाल्नुभएका स्वामी चिद्धन चैतन्य महाराज, राष्ट्रिय सन्त ईश्वर कृष्ण शरण , बाल विदुषी यमुना देवी ज्यू, अध्यात्म दर्शनबाट पाल्नुभएका सन्त दीनादचाल लगायतले वैदिक प्रवचन प्रस्तुत गर्नुभएको थियो ।

पशुपति वैदिक आश्रम प्राङ्गण, शिवालय मन्दिरमा महायज्ञ अवधिभर दैनिक पूजा अर्चना, शतचण्डी पाठपारायण एवम् हवन, सन्त प्रवचन, तुलादान, लक्षवर्ती दीप प्रज्वलन लगायतका कार्यक्रम भईरहेका छन्।

यज्ञ मूल समितिका आर्थिक संयोजकका अनुसार हाल सम्म महायज्ञमा १२ लाख ३६ हजार ९ सय ५२ रुपैयाँ दान संकलन भएको छ भने अन्तिम दिन आईतबार वैदिक प्रवचनका साथै लाखबत्ती बाल्ने कार्यक्रम रहेको यज्ञ मूल समितिका संयोजक उद्योग बहादुर श्रेष्ठले बताउनुभयो ।