मध्यविन्दु
मध्यविन्दु वडा नं १ मा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, मध्यविन्दु वडा नं १ को वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वय र सहकार्यमा किशोरी अधिकार, बाल अधिकार र बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम मध्यबिन्दुमा सम्पन्न गरिएको छ । कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका सदस्य डण्डापानी न्यौपानेले जिल्ला भित्र बालबालिका, किशोरकिशोरी, महिला माथी हुने विभेद, लैंगिक हिंसा, दुर्व्यवहार त्यसले पारेका नकारात्मक प्रभावहरु, त्यस्ता समस्याहरुको समुदायमा रहेको अवस्था र तथ्यांक तथा समस्या समाधानका लागि गर्दै आएका अभ्यासहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
विशेष गरेर अभिभावक, जिम्मेवार व्यक्तिहरु तथा सरोकारवालाहरुले बालबालिकाका समस्याहरु समाधानका लागि गर्न सकिने कामहरु र विभिन्न हिंसा दुर्व्यवहार, बाल विवाह जस्ता समस्याहरुलाई हटाउन घर देखि नै पहलको सुरुवात गरि कानुनी उपचारमा सहयोग गर्नु पर्नेमा उहाँले सरोकारवालाको ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालको पृष्ठभुमि, संस्थाले स्थानीय तह, प्रदेश तह, केन्द्रिय तहका सरोकारवालाहरुसँग बालबालिका, किशोरीहरुको अधिकार संरक्षणका लागि पहल पैरवी गर्दै आएको बारेमा सस्थाका कार्यक्रम अधिकृत राधा बोटेले सहजीकरण गर्नुभएको थियो ।
उहाँले सशक्तीकरण कार्यक्रम अन्तर्गत टोल, समुदाय, विद्यालय, वडा तथा पालिकाहरुमा गर्दै आएका कार्यक्रमहरु, बालमैत्री अभियान र टोल टोलमा बलबालिकामा भएका समस्या समाधानमा अभिभावक तथा सरोकारवालाको भुमिकाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागी प्रगती युवाक्लवका सदस्य दिनानाथ महतोले समुदायमा बालबालिकाका संगैको साथीहरुको लहैलहैमा फसेका विभिन्न किसिमका जघन्य अपराधलाई अझै पनि हामिले नै ढाकछोप गरिरहने प्रवृत्तिले यस्ता समस्याहरु समाधान हुन नसकिरहेकोले यस्ता समस्याहरुसँग सम्बन्धित घटनाहरुलाई उजागर गर्न डराउन नहुने कुरा बताउनु भएको थियो ।
कार्यक्रममा मध्यविन्दु वडा नं १ का वडाअध्यक्ष तिलकराम न्यौपानेले आफुले आफ्नो मन विचार, चेतनाको विकास गर्न सक्यौं भने मात्रै घरबाटै हिंसा, द्वन्द्वका कुराहरुलाई हटाउन सकिने कुरा बताउनु भएको थियो । साथै उहाँले अगुवा गर्ने र सामाजिक क्षेत्रमा जोडिएका प्रतिनिधिहरुसँग अन्तरक्रिया र छलफल गरेर अन्यलाई पनि सिकाउने गरि छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा सहभागी अन्य प्रतिनिधिहरुले टोल समुदायमा बालबालिकाहरुमा बाल विवाह, सानो उमेरमा गर्भवती हुने, लागु पदार्थको दुरुपयोग, मोबाइलको अत्यधिक प्रयोग, केही मात्रामा मानव बेचविखन जस्ता समस्याहरु पनि रहेकाले विशेष गरि विद्यालय स्तरमा विभिन्न कार्यक्रमहरु संचालन गर्न अनुरोध गर्नु भएको थियो उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, खानेपानी संस्थाका प्रतिनिधिहरु, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, आमा समूह, महिला समुह तथा महिला संजालका अध्यक्ष तथा प्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु, स्वास्थ्य स्वंयसेविकाहरु, युवाक्लवका प्रतिनिधिहरु तथा अभिभावकहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा महिला र पुरुष गरि जम्मा ४० जनाको सहभागिता रहेको थियो ।