देवचुली
नवलपुरको देवचुली नगरपालिकामा ध्यान र योग साधना मार्फत "शिक्षा र पूर्णस्वाथ्यका लागि स्वजागरण" कार्यक्रम हुँदैछ । जीवन विज्ञान प्रतिष्ठान नेपाल संगको सहकार्यमा देवचुली नगरपालिकाले स्वजागरण कार्यक्रम आयोजना गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
"नगरवासीलाई खुशी, उत्साह र उमंगले भरिएको जीवन जिउने प्रेरणा प्रदान गर्न जीवन विज्ञान प्रतीष्ठन संगको सहकार्यमा स्वजारण कार्यक्रम आयोजना गरेका छौँ, " नगरप्रमुख न्यौपानेले भन्नुभयो, "नगरवासी सवैले यो स्वजागरणमा सहभागी बनेर लाभ लिनुहुनेछ भन्ने नगरपालिका सरकारको विश्वास छ ।"

नगरप्रमुख न्यौपानेले ध्यान, योग र प्राणायामको माध्यमबाट शिक्षा र स्वास्थ्यमा जागरण ल्याउन सकिने महसुस गरेर नगरपालिकामा स्वजागरण अभियानको नेतृत्व स्थानीय सरकारले नै लिएको बताउनुभयो । कार्यक्रममा सहभागीलाई जीवन विकास विशेषज्ञ श्रद्धेय रमेश नेपाल गुरुदेवले स्वजागरण साधना गराउनुहुनेछ । जीवन विज्ञानका संस्थापक उहाँ नेपालका ध्यानगुरु हुनुहुन्छ ।
देवचुली नगरपालिकाले गत साउन १५ गते जीवन विज्ञानकै अर्का संस्थापक श्रद्धेय भानु गुरुदेबको सहजीकरणमा आध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न गरेको थियो । आम नगरवासीले लाभ लिन सक्ने गरि यहि मंसिर २९ गते शनिबारलाई शिक्षा र पूर्णस्वाथ्यका लागि स्वजागरण कार्यक्रम तय भएको जीवन विज्ञान परिषद देवचुलीका संयोजक श्याम शर्मा भुसालले जानकारी दिनुभयो ।
शनिबार दिउँसो १ बजेका लागि तय गरिएको कार्यक्रम देवचुली नगरपालिका वडा नम्बर-१३ दलदलेमा रहेको साहारा पार्टी प्यालेसमा हुनेछ । पहिलो "विश्व ध्यान दिवस" को पुर्वसन्ध्यामा नवलपुरका तीन वटा नगरपालिकामा स्वजागरण कार्यक्रम हुन लगेको जीवन विज्ञान जिल्ला परिषद नवलपुरका संयोजक नवराज सुबेदीले बताउनुभयो । यहि कार्यक्रम मंसिर २९ गते बिहान ७ बजे गैंडाकोट र ३० गते बिहान ११ बजे कावासोतीमा हुने जीवन विज्ञान प्रतीष्ठानले जनाएको छ ।

गत हप्ता संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई "विश्व ध्यान दिवस" को रुपमा मान्यता प्रदान गरेको थियो । नेपाली पात्रो अनुसार पहिलो विश्व ध्यान दिवस आगामी पुस ६ गते परेको छ । डिसेम्बर २१ जीवन विज्ञानका अर्का संस्थापक जीवन विकास विशेषज्ञ श्रद्धेय भानु गुरुदेब जन्मेको दिन पनि हो । गुरुको जन्मोत्सवकै दिनमा विश्व ध्यान दिवस घोषणा हुनु संयोज मात्र नभएर विशेष महत्वको ऐतिहासिक घटना भएको जीवन विज्ञान अभितन्ताहरुको दाबी छ ।
विश्वध्यान दिवसले मान्यता पाउनु सिङ्गो मानव सभ्यता र अझ पूर्वीय सनातन वैदिक दर्शनको वैश्विक बिस्तारका लागि युगकै महानतम उपलब्धि भएको जीवन विज्ञान परिषद देवचुलीका सचिव कृष्ण कंडेलले जानकारी दिनुभयो ।
"अवदेखि यस दिन ८ अरब मनुष्य जगत र सिङ्गो विश्व ध्यानस्त रहनेछ, कंडेलले अगाडी थप्नुभयो, "युगौँसम्म संसारले विश्व ध्यान दिवस मनाईरहने छ ।"
पहिलो विश्व ध्यान दिवस बृहत रुपमा मनाउने तयारी नेपाल सरकारले पनि गरेको छ ।
नेपाल सरकारले ध्यान साधनाको प्रबर्द्धन र बिस्तारमा महत्वपूर्ण भुमिका खेल्ने जीवन विज्ञान लगायत आध्यात्मिक संस्थाहरुसंगको सहकार्यमा प्रहिलो विश्व ध्यान दिवस मनाउने तयारी गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।
"नेपाल ध्यान-योग र पूर्वीय वैदिक सनातन दर्शनको मूलभूमी हो; मुख्यसचिव अर्यालले भन्नुभयो, "विगतमा प्राचीन ऋषिमुनि देखि गौतम बुद्ध जस्ता महान सन्तले यसलाई विश्वब्यापिकरण गर्न आफ्नो जीवन खर्चिनुभएकाले नै अहिले विश्वका सवै देशले ध्यानको महत्व बुझ्दै गएपछि मात्र यो सम्भाव भएको हो ।" उहाँले नेपाल र नेपालीका लागि मात्र नभएर पूर्वीय वैदिक सनातन ज्ञानको विश्वव्यापीकरणमा यो निकै महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।