देवचुली,
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको त्रि–दिवसीय योग शिविर सम्पन्न भएको छ । गत मंसिर २६ गते बुधबार देखि शुरु भएको योग तथा जीवनशैली व्यवस्थापन शिविर (आज) शुक्रबार सम्पन्न भएको हो ।
तीन दिने योग शिविर दलदलेको साहारा पार्टी प्यालेसमा संचालन भएको थियो । मध्य नेपाल साकोसको महिला परिचालन उप–समितिका संयोजक कान्तिमाया गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्लेले गर्नुभएको थियो । 
“गरौँ योग, रहौँ निरोग” भन्ने मूल नाराको साथमा आयोजित शिविरमा गणेश आचार्य प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो । प्रशिक्षक आचार्यले सांसारिक र आध्यात्मिक सुखका लागि योग र ध्यान गर्नु अपरिहार्य रहेकोले योगलाई निरिन्तरता दिन आग्रह गर्नुभएको थियो । 
यसैगरि कार्यक्रममा प्रमुख अतिथी रहनुभएका नगर प्रवक्ता तिल प्रसाद काफ्लेले योग, साधना र आर्युवेद विज्ञानको महत्व धेरै रहेकोले प्रत्येक व्यक्तिको जीवनमा योग आवश्यक रहेको बताउनुभएको थियो । साथै उहाँले योगलाई घरघरमा जोड्नुपर्ने र योगबाट स्वस्थ्य जीवन खोज्ने वातावरण सबैतिर सिर्जना गर्नुपर्ने बताउँदै योगलाई गाउँ, टोल, संघसंस्था र विद्यालयसँग जोडेर लैजानुपर्ने बताउनुभयो । 
संस्थाका अध्यक्ष तुलमणी पौडेलले मध्य नेपाल साकोसले सामाजिक रुपमा समेत अग्रसर भएर अघि बढिरहेको बताउँदै योग शिविरको पहिलो प्रयास रहेकाले आगामी दिनमा यस्ता शिविरलाई निरन्तरता दिने बताउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो ।
पतञ्जलि योग समिति नवलपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविर हरेक दिन बिहान ५ बजे देखि ७ बजे सम्म सञ्चालन भएको थियो ।
