देवचुली,
गत मंसिर २४ गते देखि देवचुली नगरपालिकाको वडा नं १५ प्रगतिनगरमा अवस्थित पशुपति वैदिक आश्रममा सुरु भएको तृतीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन तथा धनधान्यान्चलमा चौथो दिन बिहिवार सम्म ५ लाख भन्दा बढि रकम संकलन भएको छ । सम्मेलनको चौथो दिन आइपुग्दा ५ लाख ३० हजार ७ सय २ रुपैयाँ संकलन भएको यज्ञ मूल समितिका आर्थिक संयोजकले हेर्नेपाटीलाई जानकारी दिनुभयो ।
सन्त सम्मेलनमा बिहिवार श्री कैलाश आश्रम पीठाधीश्वर हरिद्धारका सरस्वती महाराज, श्री १ हजार ८ स्वामी अद्धतानन्द गिरि महाराज, स्वामी स्वरुपानन्द गिरि महाराज, यमुना देवी ज्यू, स्वामी विष्णु प्रपन्नाचार्य महाराज, भीमलाल भट्टराई, श्री मदानन्द सरस्वती ज्यू, श्री लोकानन्द सरस्वती ज्यू, लगायत उपस्थित वेद विज्ञहरुले वेदीय ज्ञान तथा प्रवचन प्रस्तुत गर्नुभएको थियो । चौथो दिन पनि धन धान्यान्चल महायज्ञमा जेष्ठ नागरिकको बाक्लो उपस्थतिी रहेको थियो ।
सात दिवसीय सत्संगको तेस्रो दिन परिस्कृत हुँदै गएको नेपाली संस्कार र संस्कृति धर्म परिवर्तन तथा वैदेशिक रोजगारीको बढ्दो मोहका कारण मौलिक संस्कृतिमा युवाहरुमा उत्प्रेरणा जाग्न नसकेकोमा खेद व्यक्त गरिएको थियो । मानव शरिर माटोबाट बनेको र माटोमैै गएर विलिन हुने भएकाले यसमा मोह राख्नु मुर्खता भएको भन्दै आफ्नो चित्त भगवानमा लगाउनु नै वुद्धिमत्ता भएकोमा वक्ताहरुले जोड दिनुभयो ।
पशुपति वैदिक आश्रम प्राङ्गण, शिवालय मन्दिरमा महायज्ञ अवधिभर दैनिक पूजा अर्चना, शतचण्डी पाठपारायण एवम् हवन, सन्त प्रवचन, तुलादान, लक्षवर्ती दीप प्रज्वलन लगायतका कार्यक्रम भईरहेका छन ।