देवचुली,
हरेक बर्ष जाडोयाम सुरु भएसँगै देशैभरिबाट भ्रमण जाने र पिकनिक खान जाने माहोल सुरु हुन्छ। यसरी भ्रमण र पिकनिकको बहानामा घर, अफिस तथा कार्यक्षेत्रबाट प्रकृतिको सानिध्यमा पुग्नेहरुले उत्कृष्ट गन्तव्य छनोट गरिरहेका हुन्छन् । पछिल्लो समयका धेरै यस्ता गन्तव्यहरु भौतिक सेवा सुविधाले मात्रै उत्कृष्ट बन्दैनन्, उत्कृष्ट बन्नका लागि टिकटक बनाउने र फोटो खिच्नलाई लालायित बनाउने ठाउँ पनि हुन जरुरी छ। यी सबै कुराहरुलाई ध्यानमा राखी नवलपुरको उत्कृष्ट पिकनिक स्पट बनेको छ-घुमाउरी पिकनिक स्पट।
नवलपुरका देवचुली नगरपालिका ९ मा अवस्थित घुमाउरी सामुदायिक वनको मातहतमा रहेको घुमाउरी पिकनिक स्पटमा यतिबेला पिकनिक खानकै लागि भिडभाड बढिरहेको छ । यतिबेला नवलपुर जिल्ला मात्रै नभई अन्य जिल्लाका विभिन्न स्थानबाट पिकनिक खान आउनेहरुको जमात बाक्लै देख्न सकिन्छ ।

सुन्दर, शान्त वातावरण र बजारको होहल्ला बाट केही पर घुमाउरी सामुदायिक वनको परिसमा पर्ने पिकनिक स्पटमा बार्षिक १५ लाख भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक पिकनिक खानको लागि आउने गरेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष पार्वती रावलले हेर्नेपाटीलाई बताउनुभयो । विशेष गरि बिदाको समय पारेर स्कुल तथा सरकारी कार्यालयबाट धेरै समूहहरु पिकनिकका लागि आउने गरेको उहाँको भनाई छ ।
पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गईरहेको घुमाउरी पिकनिक स्पटको स्तरोन्नतीका लागि पिकनिक स्पट परिसरमा पर्खाल निर्माण, बाल उधान, टहरा निर्माण लगायतका योजना रहेको समूहका सचिव कुन्तादेवि काफ्ले न्यौपानेले बताउनुभयो ।
घुमाउरी पिकनिक स्पटमा एकैदिन ४० देखि ५० सम्म पिकनिक समुहको व्यवस्थापन गरेको समूहका कोषाध्यक्ष सोमबहादुर सेन्चुरीको अनुभव छ । पिकनिक स्पटको व्यवस्थापनमा समिति लागि परेको उहाँ बताउनुहुन्छ ।
बालबालिका खेल्नको लागि बाल उद्यान लगायत पार्कलाई थप आकर्षक बनाउने योजना वन समुहको पहिलो प्राथमिकतामा रहेको छ ।
प्राकृतिक रूपले सुन्दर रहेको घुमाउरी पिकनिक स्पटको खुल्ला बगैँचा, खेल मैदान व्यवस्थित भएकाले देवचुली नगरपालिकाका मानिसहरुका लागि मात्रै नभई छिमेकी जिल्ला चितवन, पश्चिम नवलपरासीदेखि रुपन्देही लगायत अन्य जिल्लाका मानिसहरुका लागि पनि घुमाउरी पिकनिक स्पट वनभोज खानेको राजाईमा पर्ने गरेको छ ।
तिहार पछि उक्त स्थानमा पर्यटकको राम्रो चहलपहल हुन थालेपछि वन क्षेत्रले उक्त स्पटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न भौतिक निर्माण र व्यवस्थापनका कार्यलाई जोड दिईरहेको छ ।
कसरी पुग्न सकिन्छ त घुमाउरी पिकनिक स्पट?
पहिलो बाटो:
नवलपुरको देवचुली नगरपालिकामा पर्ने घुमाउरी पिकनिक स्पट पुग्न पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट उत्तरतर्फ धारापानी हुँदै गोरेघुम्ती पुगी त्यहाँबाट पश्चिम मोडिएर मनकामना आधारभूत विद्यालय हुँदै खनिया चोक (करिव १३०० मिटर) पुग्न सकिन्छ। खनिया चोकबाट पुनः १ किमि उत्तर लागेपछी पिकनिक स्पट पुग्न सकिन्छ।
दोश्रो बाटो:
पूर्वपश्चिम राजमार्ग कै प्रगतिनगर चोकबाट उत्तरतर्फ करिव ३ किमि पृथ्वीनगर हुँदै रत्नेचोक पुगिन्छ। रत्नेचोकबाट ३ सय मिटर पूर्वतर्फ लगेपछी पहिलो बाटो कै खनिया चोक पुगिन्छ। खनिया चोकबाट १ किमि उत्तरमा सामुदायिक वनको काखमा सुन्दर घुमाउरी पिकनिक स्पट अवस्थित छ।
पिकनिक खान आउनका लागि निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिन्छ ।
पार्वती रावल, अध्यक्ष - ९८०७४५१८६७
कुन्तादेवी काफ्ले, सचिव- ९८४५२०७९९९
सोमबहादुर सेन्चुरी, कोषाध्यक्ष - ९८१०००२५२३
उमा घर्ती मगर, कार्यालय सचिव - ९८६७२२४७५८