कावासोती
नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रस सर्कल जिल्ला समितिको आयोजनामा २ दिने जिल्ला गोष्ठी आज शनिबार कावासोतीमा सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी नवलपुरका सभापति डिल्लीराम कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो दिन एवम् उद्घाटन समारोहमा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसाल सँगै दोस्रो दिन एवम् समापन समारोहमा कावासोती नगरपालिकाका प्रशासकीय अधिकृत लिलानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
जिल्ला भरिका ८४ वटा विद्यालयबाट १ सय ६२ जना शिक्षक नायक र विद्यार्थीहरूको सहभागिता रहेको गोष्ठीमा विविध विषयमा प्रशिक्षण गरिएको थियो। गोष्ठीमा रेडक्रस अभियान , ट्राफिक सचेतना , प्राथमिक उपचार , जीवन उपयोगी सीप , नेतृत्व विकास , जुनियर तथा युवा साङ्गठनिक विस्तार तथा साइबर क्राइम लगायतको विषयमा प्रशिक्षण दिइएको सोसाइटीका उप मन्त्री निराजन चौधरीले हेर्नेपाटीलाई बताउनुभएको छ।
चौधरीका अनुसार रेडक्रस अभियानको लागी नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महा सचिव रामदत्त पौडेल , ट्राफिक सचेतनाको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय , प्राथमिक उपचारको लागी निराजन चौधरी , गोविन्द रिमाल र लक्ष्मी पौडेल , साइबर क्राइमको लागी जिल्ला प्रहरी कार्यालयको प्राविधिक टिम , जीवन उपयोगी सीपको लागी डा. नरनाथ पाण्डे , नेतृत्व विकासको लागी दीपक शर्मा र प्रिन्सा काफ्ले र जुनियर तथा युवा साङ्गठनिक विस्तारको लागी शशिधर कँडेल लगायतले प्रशिक्षण दिनुभएको थियो।
उप मन्त्री निराजन चौधरीको सहजीकरण रहेको गोष्ठीमा सहभागी विद्यार्थी तथा शिक्षक नायकहरूले दुई दिन सम्म सञ्चालित गोष्ठीमा सहभागी भएर धेरै नै महत्वपूर्ण कुराहरू सिक्ने अवसर मिलेको बताउँदै यस्तो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए।