देवचुली,
देवचुली नगरपालिका वडा नं १० को नगरस्तरीय रङ्गशालामा गत मंसिर ७ गते देखि सुरु भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ फाइनल खेल सम्पन्न भएको छ । शनिबार अभिषेक चर्च रजहर र गैंडाकोट फुटबल क्लब बिच फाइनल खेल भएको थियो ।
दिउँसो २ बजे सुरु भएको अन्तिम खेलमा गैंडाकोट फुटबल क्लबले उपाधि आफ्नो पोल्टामा पारेको छ । गैंडाकोट फुटबल क्लबका अर्जित लामाले गरेको १ गोलले नै क्लब विजयी हुन सफल भएको थियो । निर्धारित समय सम्ममा अभिषेक चर्चले गोल फर्काउन नसकेपछि गैंडाकोट फुटवल क्लब १–० गोल अन्तरले विजयी भएको थियो । आज भएको खेलमा राम वजी "म्यान अफ द म्याच" घोसित भएका छन् ।
समापन कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष रेप्ती कुमार घर्ती मगरले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको रहेको थियो । प्रमुख अतिथी न्यौपानले विजयी सम्पूर्ण खेलाडीलाई नगद, मेडल, प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
नगरपालिकाको शानको रुपमा सञ्चालित यस प्रतियोगिताको विजेता गैंडाकोट फुटबल क्लबलाई २ लाख ७५ हजार र र विजेता अभिषेक चर्च रजहरलाई १ लाख ५० हजाररुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी पदम भट्टराई, सर्वोकृष्ट गोलरक्षक अनुप राना, सर्वाधिक गोलकर्ता एजित बुढाथोकी नगदले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले देवचुली नगरपालिका आफैंमा खेलकुदको उर्वर भुमि भएकाले यस क्षेत्रको खेलकुदको बिकासमा आफुले सक्दो सहयोग गर्ने बताउनुभएको थियो । साथै उहाँले नगरस्तरीय रंगशालाको स्तरउन्नतीका लागि नगरपालिका सधैं अघि रहेको बताउनुभयो ।
शान्ति दीप युवा क्लब देवचुली १० पृथ्वीनगरले आयोजना गरेको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ मा देवचुली नगरपालिकाको कार्यालय , देवचुली वडा नं १० को वडा कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वय रहेको थियो । समापन कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्मा, देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, कार्यापालिका सदस्य, खेलकुद विकास समितिका पदाधिकारी लगायत खेलप्रेमीको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा नवलपुर सँगै छिमेकी जिल्लाबाट १४ टिमले सहभागिता जनाएका थिए । देवचुलीलाई खेलकुद हवको रुपमा चिनाउन र नगरस्तरीय रङ्गशालालाई स्तरोन्नति गर्न साथै यस क्षेत्रमा रहेका खेलाडीहरूको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिताको आयोजना गरिएको शान्ति दीप युवा क्लबका अध्यक्ष अमर घर्ती मगरले बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण क्लबका सचिव डण्डपानी न्यौपानेले गर्नुभएको थियो ।