देवचुली
लाली गुराँस आमा समूह कावासोती २ नवलपुरले देवचुलीमा रहेको पशुपति वैदिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ। आज मङ्गलबार एक कार्यक्रमको आयोजना गरी समुहले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो।
समुहले गत सोमबार मङ्सिर १७ गते पितृउद्धार कार्य अन्तर्गत गत पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपुरको खरकट्टा जङ्गलमा हाल सम्म दुर्घटनामा परि मृत्यु भएकाहरूको मृत आत्माको चिर शान्ति र भविष्यमा कुनै प्रकारको दुर्घटना नहोस् भनी एक दिने विशेष यज्ञ कार्य सञ्चालन गरेको हो।
समुहले दुर्घटनामा ज्यान गुमाएकाहरूको उद्धारका लागि उक्त विशेष यज्ञको आयोजना गरि सङ्कलन भएको रकमले आज पशुपति वैदिक आश्रमलाई आटा ४ पोका , चिनी साढे ८ किलो , सुजी ८ पोका , चियापत्ती १ पोका , तेल ४ पोका , मसला २ पोका , चामल ४० केजी र केही तरकारी सहयोग गरेको समुहकी अध्यक्ष गीता अर्यालले हेर्नेपाटीलाई बताउनुभएको छ।
समुहका तर्फबाट अध्यक्ष अर्याल सहित अन्य पदाधिकारीहरूको सहभागिता रहेको खाद्यान्न सहयोग कार्यक्रममा पशुपति साङ्गवेद संस्कृत आवासीय माविमा सञ्चालन हुन लागेको धन धान्याञ्चल महायज्ञको यज्ञ सम्पादन मूल समितिका संयोजक तथा आश्रमका आजीवन सदस्य उद्योग बहादुर श्रेष्ठ, आश्रमका कार्य समितिका सह सचिव तथा यज्ञ सम्पादन मूल समितिका सचिव होमनाथ जैशी, पशुपति साङ्गवेद संस्कृत आवासीय माविका प्रधानाध्यापक बाबुराम गौतम सहित आश्रमका सल्लाहकार धर्मराज बराल लगायतले खाद्यान्न ग्रहण गर्नुभएको थियो।
लाली गुराँस आमा समूह कावासोती २ नवलपुरले विसं २०५५ मा स्थापना भई यस क्षेत्रमा बिभिन्न सामाजिक तथा धार्मिक कार्यहरू गर्दै समाजमा रहेका सामाजिक समस्याहरूको विरुद्धमा सचेतना कार्यक्रमहरू समेत गर्दै आइरहेको छ।