देवचुली
देवचुली नगरपालिका वडा नं १० को नगरस्तरीय रङ्गशालामा मंसिर ७ गते देखि सुरु भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ मा आज आइतबार पनि एक खेल मात्र सम्पन्न भएको छ । आज आइतबार गैँडाकोट फुटबल क्लब र वातासिनो योङ्ग स्टार क्लबबीच खेल भएको थियो ।
निर्धारित समयको खेलमा दुवै टिमबाट समान १/१ गोल भएपछि अन्तत खेल ट्राइबेकरमा पुगेको थियो । जसमा गैँडाकोट फुटबल क्लबले वातासिनो योङ्ग स्टार क्लबलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको आयोजक शान्ति दीप युवा क्लबका सचिव डण्डापानी न्यौपानेले हेर्नेपाटीलाई बताएका छन्।
खेलको अन्तिम समय सम्म गैँडाकोट फुटबल क्लबको तर्फबाट रञ्जन पुन र वातासिनो योङ्ग स्टार क्लबको तर्फबाट देव गुरुङले समान १/१ गोल गरेका थिए । क्लबका सचिव न्यौपानेका अनुसार सोमबार कावासोती भेट्रान्स र देवचुली भेट्रान्स बीच मैत्रीपूर्ण खेल हुने र मङ्गलबार अभिषेक चर्च रजहरका विरुद्ध सेन्टर कलेज अठ्ठाइस बिगाहा बीच खेल हुनेछ।
नगरपालिकाको शानको रुपमा सञ्चालित यस प्रतियोगिताको विजेता र उप विजेताले क्रमश २ लाख ७५ हजार र १ लाख ५० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने २ टिमले जनही २५ हजार रुपैयाँ नगद समेत प्राप्त गर्नेछन्। त्यसै गरि यस प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिनेछ।
शान्ति दीप युवा क्लब देवचुली १० पृथ्वीनगरले आयोजना गरेको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ मा देवचुली नगरपालिकाको कार्यालय , देवचुली वडा नं १० को वडा कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वय रहेको छ ।
अहिले यस प्रतियोगितामा नवलपुर सँगै छिमेकी जिल्लाबाट समेत गरि १४ टिमले सहभागिता जनाएका छन्। देवचुलीलाई खेलकुद हवको रुपमा चिनाउन र नगरस्तरीय रङ्गशालालाई स्तरोन्नति गर्न साथै यस क्षेत्रमा रहेका खेलाडीहरूको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिताको आयोजना गरिएको शान्ति दीप युवा क्लब पृथ्वीनगरका अध्यक्ष अमर घर्ति मगरले बताएका छन्।