गैंडाकोट,
नवलपुरको गैंडाकोट नगरपालिकाद्वारा संचालित ७ औँ गैंडाकोट नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २० पदक सहित अमरापुुरीमा रहेको लक्ष्मी माध्यमिक विद्यालय प्रथम भएको छ । गत मंसिर १२ गते देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा गैंडाकोट नगरपालिकाका विभिन्न विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा लक्ष्मी मा.विले ११ स्वर्ण, ५ रजत र ४ काश्य सहित नगरपालिकामा नै प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसैगरि ६ स्वर्ण, २ रजत र २ काश्य सहित हर्कपुरको जनता माध्यमिक विद्यालय दोस्रो भएको छ भने ५ स्वर्ण, १ रजत र १ काश्य सहित गैंडाकोटकै अक्सफोर्ड ई। सेकेण्डरी स्कुल तेस्रो हुन सफल भएको छ ।
लक्ष्मी मा.विले प्राप्त गरेको पदक तालिका
स्वर्ण
१०० मिटर – रिले – छात्रा
१०० मिटर – रिले – छात्र
४०० मिटर – रिले – छात्र
१०० मिटर – रिले – छात्रा
सटपुट – छात्र
कबड्डी – छात्रा
ज्याब्लिन थ्रु – छात्रा
ज्याब्लिन थ्रो – छात्रा
भलिबल – छात्र
लङ्ग जम्प – छात्रा
ट्रिपल जम्प– छात्र
रजत
१५०० मिटर – दौड– छात्र
८०० मिटर – दौड–छात्र
कबड्डी –छात्र
सटपुट –छात्रा
लङ्ग जम्प – छात्र
काश्य
हाई जम्प – छात्र
हाई जम्प – छात्रा
१०० मिटर –दौड–छात्र
४०० मिटर – रिले –छात्र
प्रतियोगितामा नगरपालिकामा नै प्रथम भएपछि आइतबार लक्ष्मी माध्यमिक विद्यालयले नगरपरिक्रमा गरि विजयी उत्सव मनाएको छ । अमरापुरी चोक, भेलनटाँडी, बुद्धचोक, १६ नं चोक, दाताराम चोक हुँदै विद्यालयमा पुगी समापन गरिएकाे थियाे । विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले विद्यार्थीले गरेको मेहेनतले पूर्णता पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । खेलतर्फ मात्रै नभई विद्यालयले शिक्षामा पनि राम्रो गर्दै आइरहेको बताउनुभएको थियो ।
नगरपरिक्रमा पश्चात् विद्यालयमा पुगि समापन गरिएको कार्यक्रममा बोल्दै विद्यालयका सह–प्रधानाध्यापक तिलक बटालाले विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै विद्यार्थीको रुचि अनुसारका विभिन्न क्रियाकलापमा समावेश गराउँदै आइरहेको बताउँदै खेल क्षेत्रमा नगरकै प्रथम विद्यालयका रुपमा चिनाउन पाउँदा खुशी लागेको बताउनुभएको थियो ।
गैंडाकोट नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शनिबार समापन कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले विजेता विद्यालयहरुलाई प्रमाण पत्र ,शिल्ड र पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्रराज श्रेष्ठ, शिक्षा अधिकृत रामप्रसाद अधिकारी, शिक्षा समितिका सदस्यहरु, गैँडाकोट नगरपालिका वडा नं १ देखि १८ सम्मका वडाध्यक्ष, कार्यापालिका सदस्य, टोल विकास संस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता गैंडाकोट ३ ढोडेनीमा रहेको कृष्ण गण्डकी मा.विमा भएको थियो ।