देवचुली
देवचुली नगरपालिका वडा नं १० को नगरस्तरीय रङ्गशालामा मंसिर ७ गते देखि सुरु भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को आठौँ दिन शुक्रबार एक मात्र खेल सम्पन्न भएको छ । आज शुक्रबार अभिषेक चर्च रजहर र देशभक्त फुटबल क्लब बिच खेल भएको थियो ।
जसमा अभिषेक चर्च रजहरले देशभक्त फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको आयोजक शान्ति दीप युवा क्लबका सचिव डण्डापानी न्यौपानेले हेर्नेपाटीलाई बताएका छन्।
प्रतियोगितामा अभिषेक चर्च रजहरको जितको लागी गणेश हमाल, सुजित बुढाथोकी र अभिषेक महतोले समान १-१ गोल गरेका थिए भने निकटतम प्रतिद्वन्दी देशभक्त फुटबल क्लबका मनिष पुन र अरुण चौधरीले समान १/१ गोल गरेका थिए।
यो सँगै आजको खेलमा उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै देशभक्त फुटबल क्लबका अरुण चौधरी म्यान अफ दि म्याच हुन सफल भएका छन्। क्लबका सचिव न्यौपानेका अनुसार अर्को सेमिफाइनलमा स्थान सुरक्षित गर्नको लागी शनिबार आयोजक शान्ति दिप युवा क्लब र सेन्ट्रल कलेज अठ्ठाइस बिगाहा बीच खेल हुनेछ।
नगरपालिकाको शानको रुपमा सञ्चालित यस प्रतियोगिताको विजेता र उप विजेताले क्रमश २ लाख ७५ हजार र १ लाख ५० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने २ टिमले जनही २५ हजार रुपैयाँ नगद समेत प्राप्त गर्नेछन्। त्यसै गरि यस प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिनेछ।
शुक्रबार सम्पन्न भएको खेलमा नवलपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले जिल्लामा यसरी आयोजना हुने खेलकुद प्रतियोगिताहरूले रास्ट्रीय स्तरमा खेल्न सक्ने खेलाडीहरूको उत्पादनमा महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई स्थानीय सरकार सँगै सरोकारवाला निकायहरूले साथ र हौसला प्रदान गर्नुपर्ने बताएका थिए।
शान्ति दीप युवा क्लब देवचुली १० पृथ्वीनगरले आयोजना गरेको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ मा देवचुली नगरपालिकाको कार्यालय , देवचुली वडा नं १० को वडा कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वय रहेको छ ।
अहिले यस प्रतियोगितामा नवलपुर सँगै छिमेकी जिल्लाबाट समेत गरि १४ टिमले सहभागिता जनाएका छन्। देवचुलीलाई खेलकुद हवको रुपमा चिनाउन र नगरस्तरीय रङ्गशालालाई स्तरोन्नति गर्न साथै यस क्षेत्रमा रहेका खेलाडीहरूको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिताको आयोजना गरिएको शान्ति दीप युवा क्लब पृथ्वीनगरका अध्यक्ष अमर घर्ति मगरले बताएका छन्।