देवचुली
देवचुली नगरपालिका वडा नं १० को नगरस्तरीय रङ्गशालामा मंसिर ७ गते देखि सुरु भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को सातौँ दिन एक खेल सम्पन्न भएको छ । बिहीबार सेन्ट्रल कलेज रड्स रामपुर र योङ्ग ब्वाइज चितवन बिच खेल भएको थियो ।
जसमा योङ्ग ब्वाइज चितवनले सेन्ट्रल कलेज रड्स रामपुरलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ़्तो स्थान सुरक्षित गरेको शान्ति दीप युवा क्लबका सचिव डण्डापानी न्यौपानेले हेर्नेपाटीलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा योङ्ग ब्वाइज चितवनको जितको लागी सिमान्सु थापा र समीर श्रेष्ठले समान १–१ गोल गरेका थिए। यो संगै आज बिहीबारको खेलमा योङ्ग ब्वाइज चितवनका समीर श्रेष्ठ अफ दि म्याच घोषित भएका थिए । क्लबका सचिव न्यौपानेका अनुसार शुक्रबार सेमिफाइनल अन्तर्गत अभिषेक चर्च रजहर र देशभक्त फुटबल क्लब बीच खेल हुनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो सँगै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने २ टिमले जनही २५ हजार रुपैयाँ नगद समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिनेछ।
बिहीबार सम्पन्न भएको खेलमा कावासोती नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा कावासोती वडा नं १२ को वडा अध्यक्ष धुर्व खनाल (दिपेश) को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले यस्तो खेलकुद प्रतियोगिताहरूको आयोजना हुँदा लुकेर बसेका प्रतिभावान् खेलाडीहरूले आफूलाई चिनाउने अवसर पाउने भएकाले यसमा सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
शान्ति दीप युवा क्लब पृथ्वीनगरको आयोजनामा सञ्चालन भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ मा देवचुली नगरपालिकाको कार्यालय , देवचुली वडा नं १० को वडा कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वय रहेको छ ।
उक्त प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने छन् ।
देवचुलीलाई खेलकुद हवको रुपमा चिनाउन र नगरस्तरीय रङ्गशालालाई स्तरोन्नति गर्न साथै यस क्षेत्रमा रहेका खेलाडीहरूको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिताको आयोजना गरिएको शान्ति दीप युवा क्लब पृथ्वीनगरका अध्यक्ष अमर घर्ति मगरले बताउनुभएको छ ।