देवचुली,
देवचुली नगरपालिका वडा नं १० को नगरस्तरीय रंगशालामा मंसिर ७ गते देखि सुरु भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को छैठौँ दिन पनि एक खेल सम्पन्न भएको छ ।
बुधबार देवचुली दलित युवा समाज र गैंडाकोट फुटबल क्लब बिच खेल भएको थियो । खेलमा गैंडाकोट फुटबल क्लबले देवचुली दलितलाई २ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा गैंडाकोट फुटबल क्लबका अजित लामा र रनजन पुनले गरेको १–१ गोलले क्लबलाई जिताउन भएका हुन । निर्धारित समय सम्ममा देवचुली दलित युवा समाजले एक गोल पनि फर्काउन नसकेपछि गैंडाकोट फुटवल क्लबले २–० अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । बुधबारको खेलमा गैंडाकोट फुटबल क्लबका रोशन राना "म्यान अफ दि म्याच" भएका थिए ।
बिहीबार योङ्ग ब्वाइज चितवनका विरुद्ध रामपुर रड्सका बिच खेल हुने शान्ति दीप युवा क्लबका सचिव डण्डापानी न्यौपानेले हेर्नेपाटीलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो सँगै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने २ टिमले जनही २५ हजार रुपैयाँ नगद समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिनेछ।
बुधबार सातौँ दिनको प्रतियोगिताको अध्यक्षता देवचुली वडा नं १० का वडाध्यक्ष रेप्तीकुमार घर्तीको रहेकाे थियाे भने देवचुली नगरपालिका वडा नं १२ का वडाध्यक्ष लोक प्रसाद भुर्तेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुर्तेलले देवचुलीको खेलमैदानमा विदेशी खेलाडीको सहभागीता देख्न पाउँदा खुशी लागेको साथै यहाँका खेलाडीले पनि विदेशी खेलाडी सँग धेरै कुरा सिक्न पाउने बताउनुभएको थियो ।
शान्ति दीप युवा क्लब पृथ्वीनगरको आयोजनामा सञ्चाल भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ मा देवचुली नगरपालिकाको कार्यालय , देवचुली वडा नं १० को वडा कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वय रहेको छ ।
उक्त प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने छन् ।
देवचुलीलाई खेलकुद हबको रुपमा चिनाउन र नगरस्तरीय रंगशालालाई स्तरउन्नती गर्न साथै यस क्षेत्रमा रहेका खेलाडीहरुको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिताको आयोजना गरिएको शान्ति दीप युवा क्लब पृथ्वीनगरका अध्यक्ष अमर घर्ति मगरले बताउनुभएको छ ।