हेलो छिङआइ द !
जसरी
शिशिरसँगै पातहरु झरेर जान्छन्
गोधुलीसँगै उज्यालो अस्ताएर जान्छ
छालहरुसँगै समुद्रको ध्यान बिथोलिन्छ
त्यसैगरी
तिमी आएर गएपछि
मभित्रको एक्लो मानिस
तिमीलाई सम्झिएर
हिउँ भएर पग्लि रहेछ
हरेक प्रहर ।
फरक फरक हुन्छ ,
हरेक सम्बन्धको
सुरु र अन्त्यको कहानी ।
अग्लो पहाडीभित्र लुकेको
उसको गहिराइ
तराईका फाँटहरुमा पोखिएको
मौसमी सुन्दरता
अनि,क्यानभास र रङ्गको सम्बन्ध जस्तो
सम्बन्ध बनाउनका लागि
तिमी प्रति आकर्षित भएर
जीवित हुन खोजिरहेका
मेरा रहरका आँकुराहरुले
गन्तव्य खोजिरहेछन्
अनवरत ।
फरक भूगोल र परिवेशमा भए पनि
एउटै बाटोमा हिड्न खोजिरहेछन्
हाम्रा सपनाहरु ,
अवसर दिने नदिने
निर्णय हजुरको ।
हामी आँफैले बनाएको
परिधि र पर्खाल भित्र गुम्सिएर
खोक्रो भइसक्यौं ,
जसको परिणाम स्वरूप
बढिरहेछ
एकले अर्कालाई लडाउने प्रवृत्ति ।
घाँटीमा झुन्डिएको
रहरको मालाजस्तै त रहेछ नि सम्बन्ध !
मन लागुन्जेल पहिरियो
मन भरिएपछि फालिदियो ।
उकालो चढ्दै गरेको एक्लोपन
र,ओरालो झर्दै गएको
समयको मझधारमा उभिएर
बिभाजित भइरहेको आँफैलाई
कतिन्जेल सम्हालौ म ?
मैले बल्ल थाहा पाएँ
भित्र भरिएपछि रित्तो देखिने भनेको
मानिसको मन रहेछ ,
हेलो छिङआइ द !
आउ
भरिएर रित्तो भएको
मेरो हृदयको तुना फुस्काएर
तिम्रो आलिङ्गनमा पोखिन देउ
अनि बनाइदेउ
पवित्र अनि अमर
हाम्रो सम्बन्ध ।
मनोज बिराली, काठमाडौं (हाल सिंगापुर)