देवचुली,
देवचुली नगरपालिका वडा नं १० को नगरस्तरीय रंगशालामा मंसिर ७ गते देखि सुरु भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को पाचौँ दिन पनि एक खेल सम्पन्न भएको छ । मंगलबार साथीभाइ फुटबल क्लबका विरुद्ध सेन्ट्रल कलेज २८ बिगाहा बिच भएको खेलमा सेन्ट्रल कलेज अठाईस बिगाहा विजयी भएको हो ।
सेन्ट्रल कलेज अठाईस बिगाहाले साथीभाइ फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा सेन्ट्रल कलेज अठाईस बिगाहाका युमी, सिर्जन क्षेत्री र आकाश थापा मगरले १-१ गोल गरेका थिए भने साथीभाई फुटबल क्लबका सुरेश कुमालले १ गोल गरेका थिए । मंगलबारको खेलमा सेन्ट्रल कलेज अठाईस बिगाहाका सिर्जन क्षेत्री "म्यान अफ दि म्याच" भएका थिए । बुधबार देवचुली दलित युवा समाजका विरुद्ध गैंडाकोट फुटबल क्लब बिच खेल हुने शान्ति दीप युवा क्लबका सचिव डण्डापानी न्यौपानेले हेर्नेपाटीलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो सँगै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने २ टिमले जनही २५ हजार रुपैयाँ नगद समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिनेछ।
बुधबार पाचाैँ दिनको प्रतियोगिताको अध्यक्षता देवचुली वडा नं १० का वडाध्यक्ष रेप्तीकुमार घर्तीको थियो भने देवचुली नगर प्रवक्ता तिल प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले पछिल्लो समय खेल प्रति युवाको चासो बढ्दो रहेकाले पनि यस खेलले देवचुलीको खेललाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।
शान्ति दीप युवा क्लब पृथ्वीनगरको आयोजनामा सञ्चाल भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ मा देवचुली नगरपालिकाको कार्यालय , देवचुली वडा नं १० को वडा कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वय रहेको छ ।
उक्त प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने छन् ।
देवचुलीलाई खेलकुद हबको रुपमा चिनाउन र नगरस्तरीय रंगशालालाई स्तरउन्नती गर्न साथै यस क्षेत्रमा रहेका खेलाडीहरुको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिताको आयोजना गरिएको शान्ति दीप युवा क्लब पृथ्वीनगरका अध्यक्ष अमर घर्ति मगरले बताउनुभएको छ ।