देवचुली,
जेसिस सप्ताहको अवसर पारी देवचुलीका १४७ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको छ । जेसिस सप्ताहको पहिलो कार्यक्रम अन्र्तगत शनिवार सेतिदेवि मन्दिर प्राङ्गाणमा देवचुली ३ का नर्सरीदेखि कक्षा १२ सम्म अध्यनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
देवचुली जेसिजका अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक चिकित्सालय रजहरका सचिव प्रदिपराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
सात दिनसम्म चल्ने कार्यक्रमको उद्घाटनसँगै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको देवचुली जेसिज २०२४ का अध्यक्ष सन्तोष काफ्लेले जानकारी दिनुभयो । जेसिज सप्ताह २०२४ अन्तर्गत पशुपति साङ्गवेदमा बटुकहरुलाई खाना खुवाउने कार्यक्रम, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्यटन प्रवर्द्धन, देवचुली पदयात्रा, विद्यालयका विद्यार्थीहरुलाई स्वस्थ खानपानको बारेमा प्रशिक्षण लगायतका कार्यक्रम गरिने उहाँको भनाई छ ।
जेसिजका उपाध्यक्ष तथा देवचुली ३ का वडा सदस्य चित्रबहादुर थापाले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न सहयोग गर्नुभएको थियो । थापाले आफु वडा सदस्यमा निर्वाचित भएपछि हरेक वर्ष शैक्षिक सामाग्री, खेलकुद सामग्री, आमा समुहलाई ईन्टरनेट जडान, वडामा साउण्ड बक्स र माइक वितरण गर्दै आउनुभएको छ । जनतासँग प्रतिबद्धता गरेअनुसार प्रत्येक वर्ष गर्ने समाजिक अभियान अन्तर्गत आफू आबद्ध भएको देवचुली जेसिज मार्फत १४७ जना विद्यार्थीलाई झोला वितरण गरेको उहाँले बताउनुभयो । वडाका प्रत्येक विद्यार्थीका घरमा गएर सबै अवस्था बुझेर झोला वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, नेपाल रेडक्रस सोसाइटी देवचुली उपशाखाका सभापति देवेन्द्र शर्मा, दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तिलप्रसाद पाठक लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली जेसिजका महासचिव जीवन भुसालले गर्नुभएको थियो ।