देवचुली,
देवचुली नगरपालिका वडा नं १० को नगरस्तरीय रंगशालामा शुक्रबार देखि सुरु भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को दोस्रो दिन शान्ति दीप युवा क्लब आयोजक र साविक पिठौली गा.विस बिच खेल भएको थियो । दोस्रो दिन शनिबार भएको उक्त खेलमा साबिक पिठौली गाविसलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक शान्ति दीप युवा क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शान्ति दीप युवा क्लबका जयबहादुर थापा, आशिष सारु, राजन पाठक र अमृत बुढामगरले गरेको गोलले क्लबलाई जित निकाल्न सफल भएको हो ।
यसैगरि साविक पिठौलीका लागि प्रसिश खनालले १ गोल गरेका थिए । खेलको म्यान "अफ द म्याच" पिठौलीका प्रसिश खनाल भएको शान्ति दीप युवा क्लबका सचिव डण्डापानी न्यौपानेले हेर्नेपाटीलाई जानकारी दिनुभयो । यसैगरि आईतबार नगर युवा खेलकुद विकास समिति देवचुली र योङ्ग व्वाइज, चितवन बिच प्रतिशपर्धा हुने भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यो सँगै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने २ टिमले जनही २५ हजार रुपैयाँ नगद समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिनेछ। शान्ति दीप युवा क्लब पृथ्वीनगरको आयोजनामा सञ्चाल भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ मा देवचुली नगरपालिकाको कार्यालय , देवचुली वडा नं १० को वडा कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वय रहेको छ ।
उक्त प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने छन् ।
देवचुलीलाई खेलकुद हबको रुपमा चिनाउन र नगरस्तरीय रंगशालालाई स्तरउन्नती गर्न साथै यस क्षेत्रमा रहेका खेलाडीहरुको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिताको आयोजना गरिएको शान्ति दीप युवा क्लब पृथ्वीनगरका अध्यक्ष अमर घर्ति मगरले बताउनुभएको छ ।