देवचुली,
नगरपालिकालाई भौतिक पूर्वाधार निर्माण गरेर मात्रै समृद्ध नहुने भन्दै शिक्षा र चेतना, योग र व्यायाम सँगै खेलकुदलाई विकास गर्न सकिने गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रोशनबहादुर गाहाले बताउनुभयो ।
देवचुली नगरपालिकाको नगरस्तरीय रङ्गशालामा सुरु भएको प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन सत्रमा गाहाले सो कुरा बताउनुभएको हो । उहाँले स्थानीय तहबाटै खेलकुदलाई पनि मुख्य प्राथमिकतामा राखी अगाडि बढाउन सके भविष्यमा राम्रो प्रतिफल मिल्ने बताउनुभएको थियो ।
साथै उहाँले देवचुली नगरपालिकाको नगरस्तरीय रङ्गशालाको मैदान केही समय पहिले अव्यवस्थित झाडी रहेता पनि हाल तीनै तहको सरकारको सहयोगले वैधानिक र व्यवस्थित बनाउन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
शान्ति दीप युवा क्लब पृथ्वीनगरको आयोजनामा सञ्चाल भएको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटबल प्रतियोगिता २०८१ मा देवचुली नगरपालिकाको कार्यालय , देवचुली वडा नं १० को वडा कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वय रहेको छ ।
आज शुक्रबार भएको प्रतियोगिताको उद्घाटन खेलमा वातासिनो योङ्ग स्टार क्लब ५-० गोल अन्तरले बिजयी भएको छ। वातासिनो योङ्ग स्टार क्लबले युनाइटेड युवा क्लब गिरुबारीलाई ५-० गोल अन्तरले पराजित गरेको आयोजक क्लबका सचिव डण्डापानी न्यौपानेले बताउनुभएको छ। सजिन थापाको ह्याट्रिक सँगै शान्त गुरुङको २ गोलको साथमा वातासिनोले युनाइटेड माथि सहज जित दर्ता गरेको हो। यो खेलमा ह्याट्रिक गोल गर्ने वातासिनोका थापाले म्यान अफ द म्याच घोषित हुँदै नगद १ हजारको साथमा मेडल प्राप्त गरेका छन्।
देवचुली नगरपालिका वडा नं १३ का वडा अध्यक्ष एकदेव पौडेलले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा आयोजक शान्ति दीप युवा क्लब पृथ्वीनगरका अध्यक्ष अमर घर्ति मगरले देवचुलीलाई खेलकुद हबको रुपमा चिनाउन र यस क्षेत्रमा रहेका खेलाडीहरुको प्रतिभालाई उजागर गर्न यस प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभएको थियो।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यो सँगै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने २ टिमले जनही २५ हजार रुपैयाँ नगद समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिनेछ।