मध्यबिन्दु
समुदायमा आज पनि विभिन्न हिंसा, शोषण र असमानता अन्त्यको लागि बालिका लक्षित एकिकृत कार्यक्रमहरु र नितिहरु निर्माण गर्नुपर्ने आज मध्यबिन्दु वडा नम्बर २ का सरोकारवालाले बताएका छन् ।
मध्यविन्दु वडा नं २ मा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, मध्यविन्दु वडा नं २ को वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपुरको समन्वय र सहकार्यमा किशोरी अधिकार, बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रममा बताएका हुन ।
कार्यक्रमम जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क ले जिल्ला भित्र र पालिका भित्रको बालबालिका, किशोरकिशोरी, महिला माथी हुने विभेद, हिंसा, दुर्व्यवहारको अवस्थाहरु त्यसले पारेका नकारात्मक प्रभावहरु, तथ्यांकहरु र समस्या समाधानका लागि गर्दै आएका अभ्यासहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले समुदाय स्तरमा बालबालिका सम्बन्धि विभिन्न समस्याहरु रहेको र सो को बारेमा बेलैमा सचेत हुन सकिय धेरै समस्याहरुको समाधान सुरुवातमा नै हुने हुँदा यो सवैको साझा सरोकार रहेको बताउनुभएको थियो ।
कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपालले गरेका गतिविधिहरु र बालबालिकामा भएका समस्या समाधानमा अभिभावक तथा सरोकारवालाको भुमिकाको बारेमा कार्यक्रम अधिकृत राधा देवी बोटेले बताउनु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले सिमान्तकृत समुदायका बालबालिकाहरुमा बढि बाल विवाहको समस्या रहेको र त्यसले तिनिहरुमा पारेको प्रभावहरुको बारेमा सम्बोधन गर्दै त्यस्ता क्षेत्रमा एकिकृत कार्यक्रमहरु गर्न आवश्यक रहेको बताउनु भएको थियो । बालक र बालिकाको तुलनामा बालिकामा त्यस्ता समस्याहरुले अरु समस्यामा फसाउने हुँदा सवैले मिलि यस्ता नकारात्मक गतिविधि रोक्न पहल गर्नुपर्ने सहभागीहरुले बताउनु भएको थियो ।
कार्यक्रममा मध्यविन्दु वडा नं २ का वडाअध्यक्ष रामभक्त अधिकारीले जनप्रतिनिधिहरु सँगै टोल समुदायका अभिभावक, सामाजिक व्यक्तिहरु र संस्थाहरुले विद्यालय, टोल समुदायमा कार्यक्रममा आफुले सिकेको कुरा सिकाउने र समस्याहरुमा केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु आयोजना गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । साथै वडाले यस्ता कार्यक्रममा आवश्यक लगानी र समन्वय गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो ।
उक्त कार्यक्रममा वडा भित्रका जनप्रतिनिधिहरु, स्वास्थ्य संस्था, खानेपानी संस्थाका प्रतिनिधिहरु, मानव अधिकार समुहका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समूह र महिला समुहका प्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरु, शिक्षक प्रतिनिधिहरु, स्वास्थ्य स्वंयसेविकाहरु, युवाक्लव र बालक्लवका प्रतिनिधिहरु तथा अभिभावकहरुको गरि ५३ जनाको सहभागिता रहेको थियो ।