देवचुली,
एकता सामुदायिक वन उपभोक्ता समुहको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाको कार्यलय परिसरमा संस्थाका अध्यक्ष याम प्रसाद भुसालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रवक्ता एवम् वडा नं ११ का वडाध्यक्ष तिल प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले सामुदायिक वनको ऐन कानुन कडा भएको भन्दै वन समिती र उपभोक्ताहरुलाई ऐन कानुनको परिधि भित्र रहेर कार्यविधि बनाउन र वनको सहि तरिकाले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले स्थानीय सरकारले सामुदायिक वनका कार्यहरूमा सहयोग गर्ने बताउँदै सरकारले तोकेको कर तिर्न समिति र उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । वनको जिम्मेवारी संवेदनशील हुने हुँदा सचेत रहनुपर्ने कुरामा प्रमुख अतिथी काफ्लेले जोड दिनुभएको थियो ।
कार्यक्रममा एकता सामुदायिक वनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार समिती सदस्य हुमाकान्त सुवेदी, सल्लाहकार समिती सदस्य डिल्लीराम कडरिया, स्थानीय महासङ्घका अध्यक्ष कृष्ण तिवारी, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, अमरज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रुचाल मगर, सामुदायिक वन महासंघका उपाध्यक्ष कमल प्रसाद बाचे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वर्षभरी संस्थाले गरेका कार्य प्रगतिको प्रतिवेदन संस्थाका अध्यक्ष याम प्रसाद भुसालले प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले संस्थाले २०८०–०८१ मा गरिएका मुख्य क्रियाकलाप र २०८१–०८२ का आगामी कार्यक्रम तथा प्रस्तावहरु पेश गर्नुभएको थियो । भुसालले संस्थाले आगामी दिनमा वन व्यवस्थापन गर्दै अतिक्रमण रोकथाम गर्ने प्रयास गर्ने, चरीचरण बन्द गर्ने तथा आगालागी नियन्त्रण गर्न प्रयास गर्ने, गरिबी न्यूनिकरण गर्न विपन्न वर्गलाई सीपमूलक तालिम प्रदान गर्ने, अतिक्रमित जग्गा तारबार गरिएको उक्त ठाउँमा बेसार र अदुवा लगाउने जस्ता मुख्य योजनाहरु रहेको बताउनुभएको थियो । २०८०–०८१ को आन्तरीक लेखा परिक्षण संस्थाका लेखा संयोजक रविलाल भुसालले पढेर सुनाउनुभएको थियो ।
संस्थाकी उपाध्यक्ष खुमाकुमारी गिरिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण एकता सामुदायिक वन उपभोक्ता समुहकी सदस्य जमुना तिवारीले गर्नुभएको थियो ।