देवचुली,
देवचुली नगरपालिकाको नगरस्तरीय रंगशालामा हुन गइरहेको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटवल प्रतियोगिताका विषयमा विभिन्न सरोकारवालाहरु बिच छलफल भएको छ । शनिबार देवचुली १० पृथ्वीनगरमा रहेको शान्ति दीप युवा क्लबको भवनमा विभिन्न खेलकुद विकास समितिका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी र आमा समूह बिच खेल संचालनको विषयमा अन्तरक्रिया गरिएको थियो ।
आगामी मंसिर ७ गते देखि २२ गतेसम्म खेल संचालन हुँदैछ । शान्ति दीप युवा क्लबले विगतका दिनमा पृथ्वी कप, वडाध्यक्ष कप, मेयरकप फुटबल प्रतियोगिता संचालन गरिसकेको छ । संस्थाले देवचुली नगरस्तरीय रंगशालाकाे स्तरउन्नती गर्न र खेलाडीलाइ राष्ट्रयस्तर सम्म पुर्याउन प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटवल प्रतियोगिताका आयोजना गरिएकाे शान्ति दीप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले देवचुलीमा पहिलो पटक संचालन हुन लागेको प्रथम खुल्ला नकआउट देवचुली गोल्ड कप फुटवल प्रतियोगिताले देवचुलीको खेल क्षेत्रलाई अगाडि बढाउन मद्धत पुग्ने विश्वास व्यक्त गरेका थिए । साथै देवचुली नगरपालिकामा आगामी वर्षहरुमा पनि गाेल्डकप फुटवल प्रतियोगितालाई निरन्तरता दिन थप सहजता हुने बताउँदै सम्पूर्णलाई सहयोग गर्न अनुरोध गरिएकाे थियो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगितालाई सफल बनाउन देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष रेप्ती कुमार घर्ती मगरले सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्ने आयोजकले हेर्नेपाटीलाई जनाएको छ । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई पनि नगदले पुरस्कार गर्ने जनाइएको छ ।
अन्तरक्रिया कार्यक्रममा देवचुली वडा नं १० का वडाध्यक्ष रेप्तीकुमार घर्ती, देवचुली १० का वडा खेलकुद विकास समितिका अध्यक्ष गनबहादुर राना, देवचुली युवा तथा खेलकुद विकास समितिका सद्स्य सचिव प्रकाश काफ्ले, नगर युवा तथा खेलकुद विकास समितिका सदस्य चिरञ्जीवी पाण्डे, देवचुली ९ का वडा तथा खेलकुद विकास समितिका अध्यक्ष कृष्ण आले मगर, देवचुली १७ का वडा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमाल लगायतले खेललाइ सव्य र भव्य बनाउन सहयोग गर्ने बताएका थिए ।
उक्त प्रतियोगिताका लागि देवचुली नगरपालिका संरक्षक रहेको छ भने देवचुली वडा नं १० को वडा कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वय रहेको छ । उक्त खेलका लागि नवलपुर सहित अन्य जिल्लाबाट खेलाडीले सहभागिता जनाउन सक्नेछ ।