देवचुली,
नेपाल सरकारको वन्यजन्तु विभागले गठन गरेको प्राविधिक कार्यदलले चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आन्तरिक स्थानान्तरण गर्ने निर्णयले गत बर्ष चैत्रमा पश्चिम सेक्टर(नवलपुर) बाट ६ ओटा गैंडा पूर्वी सेक्टर(सौराहा,चितवन) लगियो। कार्यदलले १० ओटा गैंडा स्थानान्तरण गर्ने निर्णय गरेको थियो। अब अझै ४ ओटा गैंडा निकुञ्जले पश्चिमबाट पूर्वी सेक्टर स्थानान्तरण गर्नेछ। यस विचमा नवलपुरका संरक्षणकर्मी, पर्यटन ब्यवसायी, मध्यवर्ती उपभोक्ता समिति, होटल ब्यवसायीले गैंडाको स्थानान्तरण अवैज्ञानिक भएको भन्दै एक भेलाको आयोजना गरि समिती नै बनाई विरोध जनाएका छन् । बिहीवार अमलटारीको थारु गाउँ रिसोर्टमा भेला भएका सरोकारवालाहरुले सरकारको कदम अव्यवहारिक र नवलपुरे संरक्षणकर्मीको दशकौं देखिको संरक्षणको चिन्तालाई चितवन राष्ट्रिय निकुञ्जले नजरअन्दाज गरेको ठहर गरे।
भेलामा उपस्थित भएका नवलपुरका पुराना संरक्षणकर्मी विष्णु अधिकारीले गैंडा राष्ट्रिय सम्पति भएकाले सरकारले स्थानान्तरण गर्न नपाउने भन्ने सवाल नहुने भन्दै स्थानान्तरण गर्नुपूर्व पश्चिम सेक्टरका स्थानीय समुदाय, संरक्षणकर्मी र मध्यवर्ती उपभोक्ता समितिसँग छलफल गरि सौहार्दपूर्ण वातावरणमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो। अर्का संरक्षणकर्मी तथा कावासोती नगरपालिकाका पूर्व नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले एउटै राष्ट्रिय निकुञ्ज भित्र स्थानान्तरण गर्नु कुनै तुक नभएको बताउँदै पूर्वी सेक्टर लगिएका गैंडा एक महिना भित्रै घासेमैदान र अनुकुल वातावरणको खोजिमा पुनः पश्चिमतिरै आउने बताउनुभयो। उहाँले आन्तरिक स्थानान्तरणले सरकारको लागत फजुल हुने भएकाले बर्दिया, कोशी या अन्य स्थानको स्थानान्तरण जायज हुने बताउनुभयो।
नेचर गाइड एसोसिएसनका सदस्य सुधन लम्सालले चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर गैंडाको प्रजनन केन्द्र भएकाले नवलपुर क्षेत्र गैंडा अवलोकनका लागि उर्बर भूमि रहेको बताउनुभयो। नवलपुर होटल ब्यवसायी संघका अध्यक्ष सन्तोष रानाले नवलपुरको पर्यटन सिध्याउने उद्देश्य राखी गरिएको स्थानान्तरण क्षम्य नहुने बताउनुभयो। उहाँले निकुञ्जले गैंडाको बासस्थान र संरक्षणमा भन्दा स्थानान्तरणमा निकुञ्ज अग्रसर रहेकोमा त्यो कदम प्रति पर्यटन व्यवसायीको बिरोध रहेको बताउनुभयो।
कावासोती नगरपालिका वडा नं ११ वडाध्यक्ष शारदाप्रसाद अधिकारीले चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षणमा विगतका दिनहरुमा ज्यानको बाजि राखी लडेको सम्झना गर्दै गैंडा स्थानान्तरण गर्दा यहाँका संरक्षणकर्मीहरुलाई बाईपास गर्नु चिन्ताको विषय भएको बताउनुभयो । संरक्षणकर्मी एवं विश्लेषक शंकर तिवारीले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र वन्यजन्तु जस्तो विषयमा यहाँका जनप्रतिनिधि गम्भीर हुनुपर्ने धारणा राख्नुभयो। उहाँले वन्यजन्तुका हिसाबले नवलपुर पर्यटनको हब भएकाले पनि चितवन राष्ट्रिय निकुञ्जले नवलपुरको जनताको भावना नबुझ्ने हो भने छुट्टै निकुञ्ज बनाउने तर्फ पनि सोच्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरेले पश्चिम सेक्टरमा गैंडाको अत्याधिक चाप रहेकाले त्यसले स्थानीयको बालिनालीमा नोक्सान पुगेकाले पनि पूर्वी सेक्टर स्थानान्तरण गर्नु स्थानीय समुदायले जायज मानेकाले स्थानान्तरण सान्दर्भिक रहेको बताउनुभयो । उहाँले गैंडालाई निकुञ्ज भित्रै व्यवस्थापन गर्न नसकेपछी स्थानान्तरण गर्नु स्वभाविक रहेको तर्क ब्यक्त गर्नुभयो।
यसैबिच नवलपुरमा गैंडा जोगाउन समिति गठन गरिएको छ। नवलपुर क्षेत्रमा गैंदा लगायत अन्य वन्यजन्तुको संरक्षण, अवैज्ञानिक स्थानान्तरण र नवलपुरमा पर्यटनको बिकासको लागि पुराना संरक्षणकर्मी विष्णुप्रसाद अशिकारीको संयोजकत्वमा "गैंडा संरक्षण समन्वय समिति" गठन गरिएको छ। जसको सदस्यमा डिबि चौधरी, प्रेमशंकर मर्दनिया, लेखनाथ दवाडी, सन्तोष राना, शंकर तिवारी, फन्सराम महतो, सन्तोष धिताल, यमप्रसाद न्यौपाने, सुधन लम्साल, धनिराम गुरौ, नारायण केसी र दिनेश खनाल रहनुभएको छ।
छलफल कार्यक्रमको अध्यक्षता नवलपुर पर्यटन ब्यवसायी समितिका अध्यक्ष फन्सराम महतोले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण लेखनाथ दवाडीले गर्नुभएको थियो।