देवचुली,
हरिबोधनी एकादशीको पावन अवसरमा देवचुली १ केउरेनी स्थित ऐतिहासिक तथा धार्मिक स्थल नारायणी दिव्यधाममा भक्तजनको घुँइचो लागेको छ । मंगलबार बिहानैदेखि स्नान गर्ने, पूजा गर्ने र दान दिने, तोरण तार्ने तथा हिन्दु धर्ममा आस्था राख्ने श्रद्धालुको भिड लागको हो ।
एकादशीमा नारायणी स्नान तथा नदी किनारमा तुलसी रोप्ने र तोरण तार्ने परम्परा रहिआएको छ । त्यसो गर्नाले यस जन्ममा पुन्य मिल्नुका साथै मरण उप्रान्त स्वर्ग पुगिने विश्वास रहेको छ ।
नारायणी दिव्यधाम समितिका उपाध्यक्ष अग्निप्रसाद पाण्डेले वि.सं २०७० सालदेखि स्थापना भएको नारायणी दिव्यधामले हरेक वर्ष श्रद्धालु भक्तजनको सहजताको लागि कार्यहरु गर्दै आएको बताउनुभएको थियो । साथै उहाँले मन्दिरमा पूजा गर्न र नारायणीमा स्नान गर्न आउने भक्तजनको सहजताका लागि समिति खटिरहेको बताउनुभयो ।
दिव्यधामका सचिव भेषराज न्यौपानेले समितिले एकादशीको पुर्वसन्ध्यामा सरसफाई लगायत व्यवस्थापनका काम गरेको बताउनुभयो । साथै उहाँले भक्तजनहरुको अत्याधिक भिडभाड भएकाले व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन भक्तजनहरुलाई आग्रह गर्नुभएको थियो ।
हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो ।
परापुर्वकालदेखि नै नारायणी किनारमा स्नान, तोरण तार्ने लगायत विभिन्न धार्मिक तथा साँस्कृतिक मेलाको समेत आयोजना हुदैँ आएको छ । यसवर्ष पनि नारायणी किनारमा तोरण तार्नेको भिड रहेको थियो ।