देवचुली,
देवचुली नगरपालिकाको आयोजनामा गत सोमबार देखि सुरु भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा देवचुली वडा नं ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले ४५ पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । देवचुली नगरपालिकाको आयोजना, देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको सहयोग र भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयको संयोजनमा भएको खेलकुद प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
प्रतियोगितामा देवचुली नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालय गरि १७ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा विभिन्न खेलमा सहभागीता जनाएको भीमसेन मा.विले १५ स्वर्ण, ८ रजत, १८ कास्य सहित कुल ४१ पदक जितेर प्रथम हुन सफल भएको छ भने नेपाल मा.विले ९ स्वर्ण, ६ रजत र ३ कास्य सहित १८ पदक जितेर द्धितीय हुन सफल भएको थियो ।
यसैगरी पृथ्वी मा.विले ९ स्वर्ण, ६ रजत, २ कास्य सहित १७ पदक जितेर तृतीय हुन सफल भएको छ ।
यस्तै वरचुली मा.वि ७ स्वर्ण, ५ कास्य र ६ रजत सहित १८ पदक जितेर सान्तवना हुन सफल भएको छ ।
प्रतियोगितामा देवचुली मा.विले ६ स्वर्ण, १२ रजत, ५ कास्य र २३ पदक, सकला मा.वि ६ स्वर्ण ,९ रजत, ७ कास्य र २२ पदक, कुमारवर्ती मा.वि १ स्वर्ण, १ कास्य सहित २ पदक, जनज्योति नमुना मा.वि १ स्वर्ण, २ कास्य सहित ३ पदक, विश्वज्योति ईङ्लिस बोडिङ स्कुल १ स्वर्ण, ३ कास्य सहित ४ पदक, दिव्यज्योति आधारभूत विद्यालय १ कास्य पदक, जनज्योतिमा.वि ४ रजत, १० कास्य सहित १४ पदक, कालिका मा.वि ४ कास्य पदक जित्न सफल भएका छन् ।
नगरस्तरीय प्रतियोगितामा भलिबल प्रतियोगिता, कबड्डी, कराँते, ब्याटमिन्टन, रिले दौड, तेक्वान्डो, मार्च पास लगायतका खेलकुद प्रतियोगिताहरु भएको थिए ।
भीमसेन आदर्श नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछानेको अध्यक्षतामा भएको पुरस्कार तथा समापन कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले विद्यालयस्तरीय प्रतियोगिताले योग्य खेलाडी तयार बनाउन मद्धत पुग्ने बताउँदै प्रतियोगितामा विजयी सम्पूर्ण खेलाडी एवम् विद्यालयलाई बाभई दिनुभएको थियो । साथै उहाँले खेल शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिकको आवश्यकता भएको बताउँदै आगामी दिनमा पनि खेलकुदमा निति बनाई बजेट विनियोजन गर्ने बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाधयापक, विद्यार्थी, खेल प्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य भीमसेन आदर्श नमूना मा.विका प्रधानाधयापक अग्निधर भुसालले राख्नुभएको थियो भने सहजीकरण भीमसेन आदर्श नमूना मा।विका प्लस २ कोअडिनेटर कृष्ण काफ्लेले गर्नुभएको थियो ।
प्रतियोगिता देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा कार्तिक १२, १३ र १४ गरि तीन दिन सम्म संचालन भएको थियो ।