देवचुली,
देवचुली नगरपालिकाको आयोजनामा (आज) सोमबार देखि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । देवचुली नगरपालिकाको आयोजना, देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको सहयोग र भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयको संयोजनमा खेलकुद प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा देवचुली नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालय गरि १४ वटा विद्यालयले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा पहिलो दिन १२ गते सोमबार बिहान ९ बजेदेखि छात्रछात्राको भलिबल प्रतियोगिता, कबड्डी, कराँते सुरु भएको छ । भीमसेन आदर्श नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले विद्यालयस्तरीय प्रतियोगिताले योग्य खेलाडी तयार हुने बताउनुहुँदै देवचुली नगरपालिकाले खेलकुद क्षेत्रको भौतिक निर्माणमा जोड दिंदै आइरहेको बताउनुभएको थियो । साथै उहाँले खेल शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिकको आवश्यकता भएको बताउँदै आगामी दिनमा पनि खेलकुदमा निति बनाई बजेट विनियोजन गर्ने बताउनुभयो।
उद्घाटन कार्यक्रममा देवचुलीका १८ वटा विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाधयापक, विद्यार्थी, खेल प्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले राख्नुभएको थियो भने सहजीकरण भीमसेन आदर्श नमूना मा.विका प्लस २ कोअडिनेटर कृष्ण काफ्लेले गर्नुभएको थियो ।
यसैगरि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता कार्तिक १४ गते भलिबलको फाइनल खेलसँगै पुरस्कार वितरण तथा समापन रहने देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश काफ्लेले हेर्नेपाटीलाई जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन गरिने बताउनुभयो । उद्घाटनमा देवचुलीका १८ वटा विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्नेछन् । प्रतियोगिता देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । विद्यालयस्तरीय प्रतियोगिता कार्तिक १२, १३ र १४ गरि तीन दिन सम्म संचालन हुनेछ ।