देवचुली,
विद्यार्थीहरुको शिक्षामा थप गुणस्तर वृद्धि गर्न मेयरसँग विद्यार्थी कार्यक्रम संचालनमा ल्याइएको छ । देवचुली नगरपालिकाको आयोजनामा सोमबार नगरपालिकाको कार्यालयमा देवचुली वडा नं १५ मा रहेको जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरु बिच मेयरसँग कार्यक्रम संचालन गरिएको हो ।
देवचुली नगरपालिकाका नगप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुले नगरप्रमुखसँग प्रत्यक्ष संवाद गरेका थिए ।
जनज्योति मा.विमा अध्ययनरत कक्षा ५ का विद्यार्थीहरुले शिक्षा क्षेत्रमा नगरपालिकाको आगामी योजना, बढ्दो प्रदुषण र फोहोरमैला व्यवस्थापनको समस्या, शुक्रबार गरिने बुक फ्रि डे लाई निरन्तर दिन नसकिएको, प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसर, मेयर उपमेयरसँग बेला–बेला भेटघाट, दिवा खाजा व्यवस्थापनका विषयमा जिज्ञासा राखेका थिए ।
जवाफमा नगरप्रमुख न्यौपानेले स्थानीय सरकारको हैसियतले दक्षता अनुरुप विद्यार्थीहरुले राखेका कुरालाई व्यवस्थापन गर्दै जाने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समाधान गर्न सकिने बताउँदै विद्यार्थीहरुले राखेका विषयलाई सक्दो छिटो समाधान गर्न तर्फ नगरपालिका लाग्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, नगर प्रवक्ता तिल प्रसाद काफ्ले लगायत जनज्योति मा.वि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ बस्याल, विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी, नगरपालिकाका कर्मचारी, वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । विद्यार्थीसँग मेयर कार्यक्रममा विद्यार्थीहरुलाई आफ्ना जिज्ञासाहरु सहज रुपमा नगरपालिका प्रमुखसँग राख्न सकिने व्यवस्था मिलाइएको थियो ।
शिक्षा क्षेत्रमा लगानी गरिरहेको देवचुली नगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिदै आईरहेको छ । उक्त कार्यक्रममा जनज्योति मा.विका १३ जना छात्रछात्राले नगरप्रमुख समक्ष आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका प्रशासकीय अधिकृत अविनाश पन्थीले गर्नुभएको थियो ।