देवचुली,
प्रथम नवलपुर जिल्लास्तरीय रेफ्री सेमिनार देवचुली नगरपालिकामा सुरु भएको छ । शुक्रबार देखि नेपाल कराँते महासंघ देवचुलीको आयोजना र देवचुली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल कराँते महासंघ नवलपुरको सहकार्यमा भीमसेन आदर्श माध्यमिक विद्यालयमा दुई दिनको सेमिनार सुरु भएको हो ।
नेपाल कराँते महासंघ देवचुलीका अध्यक्ष भुपराज पाठकको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
पछिल्लो समय बालबालिका देखि युवाहरुमा कराँतेको आकर्षक बढ्दो रुपमा रहेकाले कराँतेको थप विकास, खेलाडीको गुणस्तर वृद्धि साथै खेलाडी उत्पादनका लागि सेमिनारको आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गर्नुभएका भुपराज पाठकले बताउनुभयो । दुई दिनसम्म चल्ने सेमिनारमा कराँतेको बारेमा प्रशिक्षण साथै सहभागी खेलाडीको परीक्षा लिई रेफ्रीको प्रमाणपत्र वितरण गर्ने पाठकले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत मुकुन्द शर्माले विगतका दिन देखि नै देवचुली नगरपालिकाले खेलकुदमा बजेट विनियोजन गरि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभएको थियो । साथै उहाँले नगरपालिकाले खेल क्षेत्रलाई बढि प्राथमिकता दिएको भन्दै आगामी दिनमा जुनसुकै खेलका लागि सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल कराँते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा, देवचुली ७ का वडा अध्यक्ष भुमिसरा आले, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, भीमसेन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निधर भुसाल, देवचुली नगर युवा तथा खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष अमरबहादुर घर्ती मगरले कराँतेमा युवाहरुको सक्रियता बढिरहेकाले यसलाई उचाईमा पुर्याउन सबैको सहयोगको आवश्यकता रहेको बताएका थिए ।
दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल कराँते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा, धन लामा, सुरेन्द्र गुरुङ र विष्णुलाल श्रेष्ठले रेफ्रीको आवश्यकता, भुमिका, रेफ्री गर्दा प्रयोग हुने शब्दावलीको व्याख्या, रेफ्रीको प्राविधिक विषयमा जानकारी लगायतका विषयमा सहजीकरण गर्नेछन्। उक्त कार्यक्रमको सहजीकरण कराँचे खेलाडी आस्था अधिकारीले गर्नुभएको थियो ।