देवचुली,
देवचुली नगरपालिकामा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार घुमाउरी सामुदायिक वनको पिकनिक स्पटमा कार्यक्रम सम्पन्न भएको हो । घुमाउरी सामुदायिक वनका अध्यक्ष पार्वती राउलको अध्यक्षता रहेको कार्यक्रममा देवचुली नगरपालिका वडा नं ९ का वडाध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका सापकोटाले भीष्म परिस्थतिमा पनि घुमाउरी सामुदायिक वनले पिकनिक स्पटबाट राम्रो आम्दानी गरेकोमा खुशी लागेको बताउनुभयो । साथै उहाँले सामुदायिक वनको माध्यमबाट राम्रो आम्दानीको स्रोत हुने भएकाले महिलाहरुलाई उद्यमी बनाउनुपर्ने बताउनुभएको थियो । महिलाहरुलाई उद्यमी बनाउन सामुदायिक वनसँग वडाले पनि सहकार्य गर्ने बताउनुभयो ।
यसैगरि कार्यक्रममा सव डिभिजन वन कार्यालय देवचुली बुलिङ्गटारका वन अधिकृति बसन्त दाहाल, स्थानीय महासंघका अध्यक्ष कृष्ण प्रसाद तिवारी, देवचुली बाल सञलका उपाध्यक्ष प्रितम कार्की, देवचुली ९ का वडा खेलकुद विकास समितिका अध्यक्ष कृष्ण आले, एकता सामुदायिक वनका अध्यक्ष यम प्रसाद भुसाल, घुमाउरी सामुदायिक वनका पूर्व अध्यक्ष दिपक भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा घुमाउरी सामुदायिक वनका अध्यक्ष पार्वती राउलले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले घुमाउरी सामुदायिक वन परिसरमा रहेको पिकनिक स्पट परिसमा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा तारजाली निर्माण गरिएको र झोलुङ्गे पुल निर्माण कार्य समापन भएको र उद्घाटन गर्न बाँकी रहेको बताउनुभएको थियो ।
घुमाउरी सामुदायिक वनका कोषाध्यक्ष सोम बहादुर सेन्चुरीले कोषाध्यक्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा घुमाउरी सामुदायिक वनका उपभोक्ता, स्थानीय बुद्धिजीवी, विभिन्न संघसंस्थामा आबद्ध पदाधिकारी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भिमदत्त दवाडीले घुमाउरी सामुदायिक वनको विषयमा कविता प्रस्तुत गर्नुभएको थियो । घुमाउरी सामुदायिक वनका सल्लाहकार संयोजक विष्णु प्रसाद भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकण सचिव कुन्तादेवि काफ्ले न्यौपानेले गर्नुभएको थियो ।
वि.सं २०५५ सालमा स्थापना भएको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहमा ६ सय भन्दा बढि सदस्य रहेका छन् भने २ सय ३४.५० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।