देवचुली,
दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार दिव्यपुरी खानेपानी समितिको ओभरहेड ट्यांकी प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिल प्रसाद पाठकको अध्यक्षता रहेको कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामचन्द्र काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका काफ्लेले कुनैपनि खानेपानी संस्थाले संस्थाको पैसा खर्च गरेर तामझाममा कार्यक्रम गर्न नहुने बताउनुभएको थियो । साथै उहाँले अन्य जिल्लाको तुलनामा नवलपुर जिल्लाले पहिलो पटक सह–लगानीको कन्सेप्ट ल्याएको बताउँदै यसबाट जनताले छिटोछरितो रुपमा सेवा पाउने बताउनुभएको थियो । उहाँले खानेपानी संस्थाले उपभोक्ताको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझै गुणस्तरीय पानी वितरण गर्न आग्रह गर्नुभएको थियो ।
दिव्यपुरी खानेपानी समितिले आफ्नो क्षेत्रभित्र रहेका वडागत ५ जना महिला र ५ जना पुरूष गरि १० जना नियमित महशुल बुझाउने उपभोक्ताहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा लेखा समितिका सदस्य कृष्ण कुमारी घिमिरेले आर्थिक बर्ष २०८०/०८१ को आय व्याय भुक्तानी विवरण, संचालन खर्च विवरण र पूंजिगत खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो । यसैगरि कोषाध्यक्षको प्रतिवेदन धनमाया सुवेदी र सुरक्षा समितिका सदस्य दिपक पोख्रेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उपभोक्ताको तर्फबाट कमलकान्त काफ्ले, समाजसेवी विक्रम मल्ल, कृष्ण गौतम, युवराज वाग्ले, अशोक वस्ताकोटी, संस्थाका सल्लाहकार प्रदिपराज घिमिरे, देवचुली वडा नं ५ का वडाध्यक्ष कृष्णप्रसाद सापकोटा, डिभिजन कार्यालय तनँहु नवलपुरका प्रमुख शम्भु राज खनाल लगायतले समितिले उपभोक्ताहरूलाई स्वच्छ र शुद्ध खानेपानी वितरण गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तिल प्रसाद पाठकले चालु आर्थिक बर्ष ०८०/०८१ मा गरेको हरेक गतिविधि प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको थियोे ।
उहाँले खानेपानी समितिले आगामी दिनमा देवचुली ४ मा शिलान्यास गरिएको आकशे टंकीलाई निर्माण गनुपर्ने, नयाँ बस्ती बसेका घरपरिवारको लागि आवश्यक पर्ने ठाउँहरुमा खानेपानीको लाईन विस्तार गर्नुपर्ने, देवचुली १ केउरेनी दाहसंस्कार घाटमा खानेपानी तथा शौचालय व्यवस्थापन गर्ने, संस्थाको कार्यक्षेत्रभित्र २ सय ३५ वटा निजी धारो वितरण गर्ने, सह लगानी योजना संचालन गर्न माग गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपभोक्ता, स्थानीय बुद्धिजीवी, विभिन्न संघसंस्थामा आबद्ध पदाधिकारी, लगायतको उपस्थिति रहेको थियो । दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष धनमाया सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकण खानेपानी समितिका सचिव गोपालराज शर्मा लम्सालले गर्नुभएको थियो ।
दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले देवचुली वडा नं १, २, ३, ४, र ५ का उपभोक्ताहरुलाई खानेपानी वितरण गर्दै आइरहेको छ ।