देवचुली,
अमर सामुदायिक वन उपभोक्ता समूह देवचुली ३, ५ र १२ को २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार संस्थाको प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले सामुदायिक वनलाई अगाडि लैजान कार्यसमितिका पदाधिकारीको मात्रै नभई समग्र उपभोक्ताहरुको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभएको थियो । साथै उहाँले समृद्धिका लागि वन आजको आवश्यकता रहेकाले निति नियम अनुसार काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
अमर सामुदायिक वनका अध्यक्ष होमनाथ पौडेलले वन समूहका विपन्न परिवारलाई संलग्न गराई काठ कटान, मुछान, र वन संरक्षणका कार्यहरु गर्दै आइरहेको बताउनुभयो । साथै उहाँले वनको दीर्घकालीन संरक्षणका लागि आधुनिक प्रविधिको प्रयोग, वनको पैदावारको व्यवसायिक रुपमा सदुपयोग गर्नसक्ने उपायहरु अवलम्वन गर्न जरुरी रहेकाले आगामी दिनमा यसरी अगाडि बढ्ने बताउनुभएको थियो ।
कार्यक्रममा उपभोक्ताको तर्फबाट रुमकला काफ्ले, अशोक बस्ताकोटी, अमरज्योती सामुदायिक वनका अध्यक्ष टुकलाल रुचाल, पूर्व निर्वाचन समितिका संयोजक युवराज वाग्ले, पूर्व अध्यक्ष नरभुपाल भुसाल, नेपाली काँग्रेस देवचुली नगर उप–सभापति भोजेन्द्र बहादुर रायमाझी, नेकपा माओवादी केन्द्र देवचुली नगर अध्यक्ष सत्यनारायण भुसाल, नेकपा एमाले देवचुली नगर कमिटि अध्यक्ष भिमलाल तिवारी, सामुदायिक वन स्थानीय महासंघका अध्यक्ष कमल बाचे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वन समूहका सह–सचिव सन्जु सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो भने समूहका सचिव फूलमाया विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।