गैंडाकोट,
अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २५ बर्ष पुगेको अवसरमा संस्थाको सभाहलमा रजत उत्सव मनाएको छ । शुक्रबार गण्डकी प्रदेशका पूर्व भूमि तथा कृषि व्यवस्थापन मन्त्री महेन्द्रध्वज जि.सीले स्तम्भको समुद्धाटन र स्मारिका विमोचन गर्नुभएको थियो । वि.सं २०५६ सालमा अमरापुरी खानेपानीको स्थापना गरिएको थियो । तत्कालिन अवस्थामा गैंडाकोटको अमरापुरी क्षेत्रका १ सय ९४ घरधुरीलाई लक्षित गरि विस्तार गरिएको यो संस्थाले २५ वर्षको अवधिमा २ हजार २ सय २५ घरधुरीलाई पानी वितरण गरिरहेको छ ।
हाल अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वडा नं १४, १५, १६ र १७ का उपभोक्ताहरु माझ सुरक्षित, सफा र स्वच्छ खानेपानी वितरण गरिरहेको छ । रजत वर्षको अवसरमा संस्थालाई यहाँ सम्म ल्याउन योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मनहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व भूमि तथा कृषि व्यवस्थापन मन्त्री महेन्द्रध्वज जि.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री जि.सीले खानेपानीलाई दिगो रूपमा अगाडि बढाउन आफ्नो भरपुर सहयोग रहने बताउनुभएको थियो । साथै उहाँले तीनै तहको सरकारलाई समन्वय गर्नका लागि एउटा युनिट नै तयार गरेर खानेपानीका योजनाहरुहरुलाई समयभित्रै सम्पन्न गर्न जरुरी रहेको बताउनुभयो । नवलपुर सबैभन्दा पहिलो खानेपानी योजना रहेकाले यसलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्मारिका प्रकाशन तथा सम्पादन समितिका संयोजक तेजेन्द्र प्रसाद सापकोटाले समरिकाको बारेमा जानकारी गराउनुभएको थियो । लेखारचना संकलन संयोजक खेम प्रसाद सापकोटा, अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व अध्यक्ष भवानी प्रसाद पौडेल, पूर्व गाविस अध्यक्ष वेद प्रसाद गौडेल, गैंडाकोट वडा नं १७ का वडाध्यक्ष गोपी कंडेल, डिभिजन कार्यालय नवलपुरका प्रमुख ई.मेहन्द्र आचार्य लगायतले रजत जयन्तीको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष गंगा सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव हिरालाल सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गैंडाकोटा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, खानेपानी संस्थाका उपभोक्ता लगायत विभिन्न संघसस्थाका प्रतिनिधीको उपस्थिति रहेको थियो ।
२४ घण्टा उपभोक्तालाई खानेपानी वितरण गर्ने लक्ष्य : अध्यक्ष मन हरि सापकोटा
अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मनहरी सापकोटाले रजत उत्सव सम्म आइपुग्दा संस्थाले उल्लेखीय प्रगति गरेको बताउनुभयो । उहाँले खानेपानी संस्थामा अझै गर्नुपर्ने धेरै काम रहेकाले आगामी दिनमा गुण्स्तरीय पानी सबै उपभोक्तालाई वितरण गरि नमुना खानेपानी संस्थाका रुपमा चिनाउने बताउनुभएको थियो । हाल संस्थाको कार्यलय परिसरमा दुईवटा पानीको फोहोरा (वाटर फाउन्टेन), मोजाक ट्रायल, ढलान सहित गाडी पार्किङ्ग स्थल निमार्ण, क्यारी सहितको गार्डेनिङ्ग निर्माण गरि चिटिक्क पारिएको छ ।