देवचुली
पछिल्लो समय देवचुली नगरपालिका खेलकुदमय बनेको छ। खेलकुद प्रति बढ्दो क्रेज सँगै देवचुली नगरपालिकामा यो आर्थिक वर्ष सुरु भए सँगै ४ वटा विविध खेलकुद प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् भने केही खेलकुद प्रतियोगिताहरूको आयोजना सँगै तयारी अन्तिम चरणमा पुगेको देवचुली नगरपालिकाका खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले हेर्नेपाटीलाई बताउनुभएको छ।
काफ्लेका अनुसार नगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले विशेष अवसर पार्दै फुटबल , भलिबल , ब्याडमिन्टन , क्रिकेट , डोरी तान्ने तथा ठेलो हान्ने जस्ता विविध खेलकुद प्रतियोगिताहरू आयोजना संगै सम्पन्न गर्दै आएका छन्।
यो सँगै अघिल्लो आर्थिक वर्षमा देवचुली नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता , गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको भलिबल र कबड्डी प्रतियोगिता , नगर स्तरीय भलिबल तथा फुटबल प्रतियोगिता , विद्यालय स्तरीय यु- १६ क्रिकेट प्रतियोगिता लगायतका प्रतियोगिताहरु सम्पन्न भएको थियो।
देवचुली नगरपालिकामा यसरी विविध खेलकुद प्रतियोगिताहरू आयोजना गरिँदा देवचुली नगरपालिका भित्रका खेलाडीहरूले अन्तराष्ट्रिय , रास्ट्रीय तथा प्रदेश स्तरको टिमबाट खेल खेल्दै नगरको नाम र शान उच्च राखेका छन्। देवचुली नगरपालिकाका सेपाक ताक्रो खेलका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा आफ्नो खेल कौशल प्रस्तुत गरिसकेका छन् भने महिला फुटबलमा समेत देवचुलीका किशोरीहरूले जिल्ला , प्रदेश र राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन्।
हालै मात्र पनि रास्ट्रीय स्तरको ब्याडमिन्टन प्रतियोगितामा समेत देवचुलीका खेलाडीहरुले सहभागिता जनाई पुरस्कृत समेत भएका छन् भने भलिबलमा समेत १ पुरुष र १ महिला खेलाडीले गण्डकी प्रदेशको टिमबाट रास्ट्रीय स्तरको भलिबल प्रतियोगितामा सहभागिता जनाएका छन्।
यसरी राष्ट्रिय स्तर सम्मको विभिन्न खेलकुदको विधामा देवचुली नगरपालिकाका खेलाडीहरूले खेल कौशल प्रस्तुत गर्दै देवचुली नगरपालिकामा समेत राष्ट्रको लागि खेल्ने खेलाडीको कमी नभएको आभास गराएको छ।
यता देवचुली नगरपालिकाको खेलकुद विकास समितिले महिला र पुरुषको नगर स्तरिय फुटबल तथा भलिबलको समूह बनाएर विभिन्न जिल्ला स्तरिय प्रतियोगितामा समेत सहभागिता हुने वातावरण मिलाएको छ भने विभिन्न संघ संस्थाहरु संग समन्वय गरेर खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ र नगरको प्रतिनिधित्व गर्ने खेलाडीहरूको प्रोत्साहनको लागी विशेष अवसरहरुमा सम्मान गर्दै उनीहरूको हौसला बढाउने काम समेत गरेको छ।