देवचुली,
नवलपुरको देवचुली नगरपालिकामा तरकारीमा विषादीको समुचित प्रयोग सम्बन्धी नाटक सहित सचेतनामुलक कार्यक्रम गरिएको छ । पछिल्लो समय तरकारी खेतीमा हालिएको विषादीका कारणले मानव स्वास्थ्यमा परिरहेकाे असरकाे न्यूनिकरणका लागि कृषि ज्ञान केन्द्रले विभिन्न अभियान संचालन गरेको छ । आइतबार देवचुली नगरपालिकाको जलुके कृषि उपज केन्द्रमा किसानलाई पनि विषादीको प्रयोगले निम्ताएको घटनालाई नाटकमा प्रस्तुत गरि साथै देवचुली नगरपालिका कृषि शाखा र ह्याप्पी एफ.एमले तयार पारेको सचेतनामुलक नाटक प्रदर्शन गरि सचेतना जगाइएको छ ।
कृषि ज्ञान केन्द्र नवलपुरको आयोजना र देवचुली नगरपालिका कृषि शाखाको समन्वयमा विषादीको समुचित प्रयोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न योजना तयार पारिरहेको अवस्थामा नगरपालिकाले विषादी मुक्त गर्न नगरपालिकाले कृषि ज्ञान केन्द्रसँग समन्वय गरि विभिन्र वडामा सचेतना कार्यक्रम अगाडि बढाउने बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष रेप्ती कुमार घर्तीले किसानलाई जैविक मल प्रयोग गराउन तर्फ सबै लाग्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले नेपालमा विषादीको प्रयोगको अवस्था, विषादीको असुरक्षित प्रयोग, विषादी प्रदूषण हुने माध्यम, मानव स्वास्थ्यमा विषादीको असर, विषादीको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु, विषादीको असर कम गर्ने उपायहरुको विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले यस विषयमा किसानले जानीनजानी विषादी प्रयोग गर्नाले मानव स्वास्थ्य र वातावरणमा धेरै असर पुगेकाले यसलाई न्यूनिकरण गर्न विभिन्न पालिकामा अभियान नै संचलन गरेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, विभिन्न वडाका वडाध्यक्ष, कृषि ज्ञान केन्द्र नवलपुरका प्रतिनिधि एवम् कर्मचारी, देवचुली नगरपालिका कृषि शाखाका प्रमुख, स्थानीय कृषक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
सचेतनामुलक नाटकले विषादीको प्रयोगले तरकारी र किसानलाई कस्तो असर पर्ने बारे छर्लङ्ग जानकारी भएको सहभागी कृषकहरुले बताएका थिए ।