देवचुली,
वैकल्पिक शक्तिका रुपमा आएका व्यक्तीहरु दीर्घकालीन नहुने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो । बुधबार नेपाली काङ्ग्रेस देवचुली नगरसमितिले विपी स्मृति भवन दलदलेमा राखेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले बालेन, रवि जस्ता थुप्रै व्यक्तिहरुलाई इंगित गर्दै यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भने पनि यसको अन्त्य त्यहीँ हुने बताउनुभयो । पाण्डेले नेपाली काँग्रेसले विगतमा आन्दोलन गरेर मुलुकमा प्रजातन्त्रीक परिपाटीको स्थापना नगरेको भए आज बालेन, रवि जस्ता व्यक्तिहरुले पार्टी खोल्न पाएको र जनप्रतिनिधि भएर काम गर्न पाएको बताउनुभयो ।
भेटघाटमा पाण्डेले कार्यकर्ताहरुबाट आएको जिज्ञासाको एकमुष्ट रुपमा जवाफ दिँदै आवश्यकता र चाहना धेरै तर साधन स्रोत थोरै भएका कारणले सिमित स्रोत र साधन भित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशको पोखरासँग नवलपुर जिल्लालाई प्रत्यक्ष सम्बन्ध स्थापित बनाइराख्ने विषयमा आँफूहरु चिन्तशील रहेको बताउनुभएको थियो ।
कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने वक्ताहरुले लोकाहामा बन्ने औद्योगिक क्षेत्रको कार्यलाई अगाडि बढाउनुपर्ने , दलदले–धौवादी सडकलाई पोखरासँग जोड्नुपर्ने , प्रदेशका सबै वडालाई सानो भएपनि योजना पार्नुपर्ने , बालबालिकाको क्षेत्रमा कार्यविधि बनाउनुपर्ने , कृषिजन्य वस्तुको बजारीकरण गर्ने वातावरण बनाउनुपर्ने र सुकुम्बासीलाई लालपूर्जा वितरण कार्यलाई अगाडि बढाउनुपर्ने जस्ता विभिन्न विषयको माग गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व कृषि मन्त्री महेन्द्रध्वज जिसी, पूर्व सांसद ओमकला गौतम लगायतले नवलपुर जिल्लालाई प्राथमिकतामा राखेर विभिन्न योजना पार्न आग्रह गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएको नेपाली काँग्रेस देवचुली नगर सभापति डिल्लीराम कडरियाले दलदले धौबादी मोटरबाटोको विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले प्रदेशकै कान्छो जिल्ला नवलपुरमा धेरै सम्भावना रहेता पनि योजनाहरु नपर्दा जिल्ला ओझेलमा परेको बताउनुभएको थियो ।