गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बेलचौतारा पक्की पुलको शिलान्यास गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेले नवलपुरको देवचुली नगरपालिका अन्तर्गत वडा नं ३ र १२ जोड्ने पुलको शिलान्यास गर्नुभएको हो । यो पुल निर्माणका लागि गत जेठ ३० गते निर्माण कम्पनी ब्रदर्श देवचुली जेबी प्रालिसँग पुर्वाधार बिकास कार्यालय नवलपुरले ठेक्का सम्झौता गरेको छ। कार्यालयले कुल ६ करोड ३० लाख ५८ हजार ६ सय ५२ रुपैयामा निर्माण कम्पनीसँग सम्झौता गरेको पुर्वाधार बिकास कार्यालयका प्रमुख कृष्ण आचार्यले बताउनुभयो। निर्माण कम्पनीले २०८३ जेठ १५ सम्म निर्माण सम्पन्न गर्ने गरि दशैं लगतै काम सुरु गर्ने उहाँले बताउनुभयो। पुलको लम्बाइ ४५ मिटर र चौडाइ ८ मिटरको रहनेछ ।
शिलान्यास पछि औपचारिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले देवचुली नगरपालिका, सबै स्थानीय जनप्रतिनिधि, पार्टी र व्यक्तिको सामुहिक प्रयासले नै पुलको शिलान्यास सम्भव भएको बताउनुभयो। उहाँले बिकास निर्माणको कामलाई राजनितिक रंग दिन नहुने धारणा राख्दै पुल सम्पन्नका लागि गण्डकी प्रदेश सरकारले बहुबर्षे योजनामा उक्त पुलको बजेट सुनिश्चित गरेकाले ढुक्क भएर समय मै निर्मान सक्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बेलचौतारा पुल पूर्व पश्चिम राजमार्गबाट नजिक रहेकाले राजमार्ग अवरुद्ध हुँदा विकल्पका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो। उहाँले नवलपुर जिल्ला गण्डकी प्रदेश कै एक महत्त्वपूर्ण जिल्ला भएकाले बिकास निर्माण मात्रै नभइ कृषि लगायतका अन्य क्षेत्रमा पनि गण्डकी प्रदेश सरकारले बजेटको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले बेलचौतारा पुलका लागि संस्थापक नगरप्रमुख पूर्णकुमार श्रेष्ठ र आँफू अघिल्लो कार्यकालमा नै प्रदेश सरकारसँग ताकेता गरेर बजेट विनियोजन गर्न सफल भए पनि विभिन्न प्राविधिक कारणले निर्माण प्रकृया अघि बढ्न नसकेकोमा ढिलै भए पनि पुलको शिलान्यास भएकोमा खुसी लागेको बताउनुभयो। उहाँले सो पुल निर्माणसँगै साबिक दिव्यपुरी र प्रगतिनगर जोड्न सहजता हुने धारणा राख्नुभयो।
शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा, गण्डकी प्रदेशका पूर्व कृषि मन्त्री महेन्द्रध्वज जिसी, पूर्व सांसद ओमकला गौतम, विभिन्न राजनितिक दलका प्रमुख, देवचुली नगरपालिकाका नगर प्रवक्ता, वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले गर्नुभएको थियो।