गैँडाकोट
विज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्य समिति नवलपुरले आज एक कार्यक्रम गरि १२ औं राष्ट्रिय विज्ञान दिवस मनाएको छ। जिल्ला भित्रका ८ वटै पालिकाको विज्ञान शिक्षक समाज र समाजको जिल्ला समितिको समन्वय सँगै विज्ञान शिक्षक समाज गैँडाकोटको आतिथ्यमा जनक नमुना मावि गैँडाकोटको सभाहलमा प्रथम स्मारिका विमोचन एवम् सम्मान कार्यक्रम सम्पन्न भएको हो।
‘विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि’ भन्ने मूल नाराका सम्पन्न कार्यक्रममा समाजका जिल्ला अध्यक्ष मोहन भण्डारीको अध्यक्षता सँगै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जिसस प्रमुख विश्वकर्माले नवलपुर विज्ञान आवाज अङ्क १ नामक स्मारिका विमोचन गर्नुभएको हो।
समाजका जिल्ला उपाध्यक्ष दीपक बिष्टको स्वागत मन्तव्य रहेको कार्यक्रममा स्मारिका विमोचन सँगै पूर्व विज्ञान शिक्षकहरू राजेन्द्र पटेल, शक्ति भुषण पाण्डे, घनश्याम भुसाल, गौरी शङ्कर चौबे , खिलेश्वरी धिताल र कमलेश्वर कुमार गौंड गरि ६ जनालाई सम्मान समेत गरिएको थियो। जनक नमुना मावि गैँडाकोटका सहायक प्रधानाध्यापक नारायण तिमिल्सेनाले सहजीकरण गर्नु भएको कार्यक्रममा गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डा बालकृष्ण चापागाईं , शिक्षा अधिकृत राम प्रसाद अधिकारी , विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय उपाध्यक्ष यदुनाथ न्यौपाने , विज्ञान शिक्षक समाज नेपालका गण्डकी प्रदेश अध्यक्ष राज कुमार ढकाल , जनक नमुना मावि गैँडाकोटका प्रधानाध्यापक चुडामणि शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई विज्ञान शिक्षक समाज नेपालका जिल्ला अध्यक्ष मोहन भण्डारीले विषयवस्तु माथि प्रकाश पार्नुभएको थियो भने समाजका गण्डकी प्रदेश अध्यक्ष राज कुमार ढकालले विज्ञानको आवश्यकता र वर्तमान शिक्षाको बारेमा प्रस्तुतीकरण दिनुभएको थियो।
कार्यक्रमको अवसरमा सम्पूर्ण पालिकाको प्रतिनिधित्व हुने गरि समाजका देवचुलीका अध्यक्ष दिपकराज रेग्मी , स्मारिका सम्पादन मण्डलका तर्फबाट सदस्य बसन्तराज चापागाईं , कार्यक्रम व्यवस्थापनको तर्फबाट समाजका गैंडाकोट अध्यक्ष शिव जिसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
विधार्थीहरुको नृत्य प्रस्तुति समेत रहेको कार्यक्रम व्यवस्थापनको सहजीकरण समाजका जिल्ला सचिव प्रकाश भण्डारीले गर्नुभएको थियो।