देवचुली,
नेपाल सरकारले जारी गरेको दोस्रो कार्ययोजनाको तीन वर्ष सकिन लाग्दा समेत द्धन्द्ध पीडित महिलाहरुको विषयमा सरकारले न्याय दिन नसकेको पीडित महिलाहरुले बताएका छन् । मंगलबार देवचुली नगरपालिकाको आयोजना र विजय विकास स्रोत केन्द्रको समन्वयमा जनप्रतिनिधि, कर्मचारीलाई दिइएको महिला, शन्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३३५ र १८२० को कार्यान्वयन सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुराहरु बताएका थिए ।
द्धन्द्ध पीडित महिला सञ्जालका अध्यक्ष पार्वती सिग्देलले नवलपुर जिल्लामा पनि धेरै द्धन्द्धपीडित महिलाहरु रहेकाले उनीहरुको क्षेत्रमा स्थानीय सरकारले पनि बजेट विनियोजन गरि सहयोग गर्नुपर्ने बताउनुभएको थियो । उहाँले विभिन्न जिल्लाका पालिकाले विभिन्न योजनाहरु ल्याउँदा नेपाल सरकारबाट नभएपनि स्थानीय सरकारबाट न्यायको आशा पलाएको बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता भुपेन्द्र खनालले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० पृष्ठभूमि र महत्व, महिला, शन्ति र सुरक्षासँग सम्बन्धित प्रस्ताव नं १३२५ जोड दिएका प्रमुख विषयहरु, नागरिक समाजको भूमिकाहरु र संक्रमणकालिन न्यायका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले देवचुलीमा रहेका द्धन्द्धपीडित महिलाहरुलाई सम्बोधन गर्दै नगरपालिकाबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले द्धन्द्धपीडित परिवारलाई न्याय दिलाउनका लागि नगरपालिका सधैं साथमा रहेको बताउनुभयो ।
कार्यक्रम माथि विजय विकास स्रोत केन्द्रका कार्यक्रम संयोजक नर्मदा पाण्डेले प्रकास पार्नुभएको थियो । उहाँले द्धन्दपीडित महिलाहरुको अधिकार स्थापित गर्न स्थानीय पालिकाहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको थियो । सहिद, बेपत्ता, अपाङ्गता, विस्थापित, यौनहिंसामा परेका महिलाहरुले यतिका वर्षमा पनि न्याय पाउन नसकेकोले उनीहरुको न्यायका लागि अभिमुखीकरण कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रम देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । देवचुलीमा ५७ जना द्धन्द्धपीडित महिलाहरु रहेका छन् । अभिमुखीकरण कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका पदाधिकारी, पलिकाका कर्मचारी, द्धन्द्धपीडित महिलाहरु र सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण महिला तथा सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले गर्नुभएको थियो ।