देवचुली,
नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र देवचुली नगर समितिले देवचुली नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र देवचुलीले देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीलाई विभिन्न २९ बुंदे माग राख्दै आइतबार ज्ञापन पत्र बुझाएको हो ।
जनप्रतिनिधिहरुले संविधानको मर्म र भावना विपरित गई भ्रष्टचार, कु–शासन, तथा स्वेच्छाचारि बन्दै गएको प्रति नगरपालिकावासीहरुले पालिका भित्र भोग्नु परेका समस्या र देखिएका बेथितिहरु बुंदागत रुपमा टिपोट गरेर समाधानको माग गर्दै नेकपा माओवादी केन्द्र देवचुली नगर समितिका अध्यक्ष सत्यनारायण भुसाल र पार्टीका पदाधिकारीहरुले उपप्रमुख तिवारीलाई ज्ञापन पत्र बुझाएका थिए ।
नगरपालिका भित्रका भुमिहिन तथा सुकुम्बासीहरुको जग्गा नापजाँचलाई निरन्तरता दिनुपर्ने साथै लालपूर्जा वितरण गनुपर्ने, दलित, सुकुम्बासी, लोपोन्मुख जाती, बोटे, माझी, मुसहर र थारुका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था, मा.वि सम्मको शिक्षालाई पूर्ण निःशुल्क गर्नुपर्ने, पहाडी क्षेत्र जोड्ने बाटो बनाउनुपर्ने, बेरोजगार गृहिणी महिला तथा युवाहरुलाई प्रोत्साहन स्वरुप रोजगारको व्यवस्था गर्नुपर्ने, नगरपालिका भित्रका किसानहरुलाई आवश्यक विउविजन तथा सामाग्री प्रदान गर्नुपर्ने, जनयुद्ध तथा जनआन्दोलनका शहिद, घाइते, अपाङ्गलाई सम्मान स्वरुप भत्ता उपलब्ध गराउनुपर्ने, विद्यालयहरुमा आवश्यक दरवन्दी, भौतिक पुर्वाधार, ल्याव तथा उपकरणको व्यवस्थापन गर्नुपर्ने, दाह संस्कारको लागि निःशुल्क दाउराको व्यवस्था गर्नुपर्ने, ठुला उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नुपर्ने, खोला तथा नदि कटान, डुबान नियन्त्रणका लागि योजना बनाउनुपर्ने, जङ्गली जनावरबाट हुने हानी नोक्सानीको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सहकारी संस्थाको अनुगमन गर्नुपर्ने, कृषि उपज केन्द्र संचालन गर्नुपर्ने, व्यवसायीहरुलाई राहतका कार्यक्रम ल्याई करको दर समायोजन गर्नुपर्ने जस्ता विभिन्न माग गरिएको छ ।
नेकपा माओवादी केन्द्र देवचुली नगर समितिका अध्यक्ष सत्यनारायण भुसालले ज्ञापन पत्रमा भएका मागहरुलाई यथेस्ट सम्बोधन गरि सहज वातावरण निर्माण गर्न आग्रह गर्दै मागहरुलाई बेवास्ता गरि अबमूल्यन गरिएमा सो को परिणाम स्थानीय तहले नै जिम्मा लिनुपर्ने चेतावनी दिनुभएकोे थियो ।
ज्ञापन पत्र बुझ्दै देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले ज्ञापन पत्रमा लेखिएका धेरै काम नगरपालिकाले गरिसकेको बताउँदै बाँकी रहेको कार्यको अध्ययन गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।