देवचुली,
देवचुली नगरपालिकामा क्षयरोगका बिरामीको खोजीका लागि निःशुल्क छातीको एक्सरे शिविर हुने भएको छ । शुक्रबार देवचुली नगरपालिकाको आयोजना र क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराको सहकार्यमा क्षयरोग खोज सम्बन्धि अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग नियन्त्रणका लागि गण्डकी प्रदेशका ८५ वटा पालिकाको १२ वटा पालिकामा मात्रै यो कार्यक्रम हुन गइरहेको बताइएकाे छ । जसमा देवचुली नगरपालिकाबाट याे कार्यक्रम सुरु हुन गइरहेको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले यो कार्यक्रमबाट गरिने एक्सरे अन्य भन्दा फरक रहेको बताउँदै देवचुलीमा हुने निःशुल्क छातीको एक्सरे शिविरमा त्यस्ता बिरामीलाई सहभागी हुन आग्रह गर्नुभएको थियो ।
कार्यक्रमममा क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराका डा शिशिर पौडेलले क्षयरोगका प्रकार, क्षयरोगका लक्षणहरु, नेपालमा क्षयरोगको अवस्था, क्षयरोगको नियन्त्रण तथा रोकथामका विषयमा जानकारी गराउनुभएको थियो ।
यसैगरि कार्यक्रममा स्वास्थ्य कार्यालय बाग्लुङगका क्षयरोग कुष्ट रोगका फोकल पर्शन देव प्रकाश घिमिरेले क्षयरोगको हालको अवस्था र यसलाई समाजले हेर्ने दृष्टिकोण र यसको न्यूनिकरणको लागि गर्नुपर्ने कार्यको विषयमा प्रस्टाउनु भएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले क्षयरोग बिरामीको पहिचान गरि उनीहरुको उपचारलाई अगाडि बढाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै शंकास्पद व्यक्तिहरुलाई निःशुल्क शिविरमा सहभागि भई रोगको निवारण गर्न सहयोग पुर्याउन आग्रह गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यालय नर्स, स्वंयमसेवीका, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
देवचुली नगरपालिकाका १ हजार व्यक्तिलाई दुईवटा सेवा केन्द्रमा छातीको चेकजाँच गरि क्षयरोगको पहिचान गरिने बताइएको छ । देवचुलीको वडा नं ७ भीमसेन मा.विको प्रा.वि.ब्लकको सेन्टर प्लटमा असोज २ गते बुधबार बिहान ७ बजे देखि ५ बजेसम्म र देवचुली वडा नं १६ वडा कार्यालय परिसर रजहरमा असोज ३ गते बिहिबार निःशुल्क एक्सरे शिविर हुनेछ ।