नवलपुर,
चितवन, नवलपुर सहित पाँच जिल्लामा वन्यजन्तु संरक्षण र वाताबरणीय अपराध नियन्त्रणको लागि समुदायमा आधारित सचेतनामुलक प्रशिक्षण कार्यक्रम ९हिजो० आइतबार देखि सुरु गरिएको छ । नवलपुरमा आइतबार र सोमबार गरि १ सय २५ जनालाई वन्यजन्तु प्रभावित, मध्यवर्ती क्षेत्रमा समुदायमा आधारित संरक्षणमुलक तालिम सुरु गरिएको हो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यु.एस.ए.आइ.डी) को आर्थिक सहयोग, इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजनामा चितवन, नबलपुर, नबलपरासी, बारा र पर्सा जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरी सुरु गरिएको संरक्षणकर्मी बसन्त रानाले जानकारी दिनुभयो ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गतको समुदायमा आधारित चोरी शिकार नियन्त्रण तथा युवा जागरण अभियानका संयोजक बसन्त राना र संरक्षणकर्मी तथा पत्रकार कोमलचन्द्र भगतको समन्वयमा चितवन सहित पाँच जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । नवलपुरमा अमलटारी होमस्टे, शान्ति सामुदायिक वन, अघ्यौली सामुदायिक वनमा गरिएको थियो भने सोमबार देवचुली नगरपालिकाको बोटे माझी होमस्टे, धुसेरी सामुदायिक वन र पिप्रहर सामुदायिक होमस्टेमा तालिम संचालन गरिएको छ ।
वातावरण संरक्षण, नेपालमा वातावरणीय अपराध तथा तिनको रोकथाममा स्थानीयहरूको भूमिका, वातावरणीय अपराध नियन्त्रण गर्ने मुख्य कानुन, दण्डजरिवानाका विषयहरुलाई समुदायस्तरमा पु¥याउने र वन्यजन्तु संरक्षण गर्दा हुने फाइदाको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । नवलपुरका मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, आमा समुहमा गरिएको कार्यक्रममा संरक्षणकर्मी राना सहित बर्षा नेवार, ज्योति पौडेल,राजेन्द्र सिग्देल, प्रजिता ढकाल र प्रदिप कँडेलले विषय विज्ञका रुपमा सहजीकरण गर्नुभएको छ ।
वन्यजन्तु संरक्षणसंगै जल, जमिन, फोहोरमैला व्यवस्थापन सहितलाई प्राथमिकतामा राखेर बाताबरणीय अपराध गर्दा हुने सजायका बारेमा समुदायमा सचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको संरक्षणकर्मी तथा पत्रकार भगतले दिनुभयो ।
करिब ३० बर्ष अघि मध्यवर्ती क्षेत्र घोषणा गरेर सामुदायलाई संरक्षणको साझेदार बनाइएको थियो । तर पछिल्लो समय मानब वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा संरक्षणमा चुनौती थपिएको छ । चितवन सहित पाँच वटा जिल्लामा संरक्षणको कामलाई पुरानै अबस्थामा फार्काउने र समुदायलाई थप जिम्मेबार बनाउने गरी कार्यक्रम सञ्चालन गरिएको छ । तालिममा एउटा कक्षामा ४० देखि ४५ जना सहभागी हुनेछन् । तीमध्ये आधा महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।
२०२४ अगष्ट महिनाको पहिलो हप्ताबाट शुरु भएको तालिम सेप्टेम्बर महिनाको अन्तिमसम्ममा सक्ने लक्ष्य रहेको ईनोभेटिभ भिजनकी डाटा एनलाईस्ट झरना कार्कीले बताउनुभयो । उक्त तालिमले वातावरणीय अपराध नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
यो तालिममार्फत देशभरका १० हजार जनालाई वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना जगाउने लक्ष्य लिइएको छ ।