भरतपुर,
सम्पूर्ण किताब नारायणगढले सातौँ वार्षिकोत्सवका अवसरमा भरतपुर(२९ जुगेडीस्थित श्री कविलास माविमा कक्षा ७ मा अध्ययनरत सीमा गुरुङलाई शैक्षिकसामग्री उपलब्ध गराइएको छ ।
पसल परिसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि गोविन्दराज विनोदी र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ चितवन शाखाका अध्यक्ष परमेश आचार्यले छात्रालाई शैक्षिकसामग्री प्रदान गरेका हुन् । झोला, कापी, कलम, ज्यामिती बक्स, क्यालकुलेटर, विभिन्न पाठ्यपुस्तकसहित कपडा, साबुन, सेम्पु, नेलकटर, मञ्जन-ब्रस, प्याडलगायतका सामग्री दिइएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले बताए । विद्यालयका प्रधानाध्यापक सीताराम मोक्तानले पिछडिएका र विपन्न समुदायका बालबालिका अध्ययन गर्ने कविलासकी छात्रालाई दिइएको शैक्षिकसामग्री सदुपयोग हुने प्रतिबद्धता जनाए ।
शिक्षासेवी प्रेम रिमालले व्यावसायिक संस्था सम्पूर्ण किताबले सामाजिक उत्तरदायित्व बहन गरेकोमा धन्यवाद दिए । ञसम्पूर्ण किताबले व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयकी छात्रालाई शैक्षिकसामग्री दिएर सहयोग गर्नु प्रशंसनीय काम होझ, रिमालले भने ।
सातौँ वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण किताबले जिल्लाका दुईवटा संस्थालाई पठन संस्कार अभियन्ताका रूपमा सम्मान गरेको छ । ती संस्थाले आफ्ना सबैखाले कार्यक्रमहरूमा मायाको चिनो र उपहारस्वरुप किताब दिने प्रचलन बनाएर पठन संस्कृतिको विकास र प्रदर्धनमा महत्त्वपूर्ण योगदान दिएकोमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नारायणगढ जेसीजका अध्यक्ष राजेन्द्र भट्टराईलाई कदरपत्रले सम्मान गरिएको सञ्चालक सापकोटाले बताए ।
ञउपहारमा अरू सामान दिनुभन्दा किताब दिनु कैयौँ गुणा राम्रो देखिन्छ’, सम्मान ग्रहणपछि एक्सपर्टका डिल्लीराम अधिकारीले भने– ‘किताबको सङ्ग्रह अरू सामानको सङ्ग्रह भन्दा निकै उपयोगी हुन्छ ।’ नारायणगढ जेसीजका राजेन्द्र भट्टराईले जेसीजका सबै कार्यक्रममा उपहार र मायाको चिनो किताब मात्रै दिइने गरिएको बताए । ञहामीले मायाको चिनो र उपहारस्वरूप किताब मात्रै दिने गरेका छौँ । अन्य बस्तु दिँदा त्यसको उपयोगिता नहुने र व्यवस्थापन गर्न पनि अप्ठ्यारो देखिन्छ । तर किताबको व्यवहारिक महत्त्व अत्यन्तै सान्दर्भिक छझ, भट्टराईले भने ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्ने अतिथिहरूले पनि किताब उपहार दिने प्रचलन र यो प्रचलनलाई सम्मान गर्ने सम्पूर्णको कार्यलाई खुलेर प्रशंसा गरे ।
वि। सं। २०७५ सालमा स्थापना भएको सम्पूर्ण किताबले उद्घाटन र स्थापना दिवसमा सामुदायिक विद्यालयमा पढ्दै गरेकी १ जना छात्रालाई शैक्षिकसामग्री दिने गरेको छ । स्थापना वर्ष २०७५ सालमा श्री नारायणी मावि गैंडाकोट-७ मा कक्षा ४ मा पढ्दै गरेकी ममता चितौरेलाई शैक्षिकसामग्री दिएर पसल उद्घाटन गरिएपछि हरेक वर्ष भदौ २३ गते स्थापना दिवस मनाउने गरिएको सञ्चालक सापकोटाले बताए ।
वि. सं २०७६ सालमा श्री रामनगर मावि भरतपुर १ मा कक्षा ७ मा पढ्दै गरेकी अस्मिता विक, वि.सं २०७८ सालमा श्री राष्ट्रिय आधारभूत विद्यालय इच्छाकामना ७ खेतबारीमा कक्षा ६ मा पढ्दै गरेकी रञ्जिता चेपाङ, वि. सं. २०७९ सालमा श्री दुर्गा मावि बाह्रघरे भरतपुर ४ मा कक्षा ९ मा पढ्दै गरेकी ओमकुमारी थापा र गतवर्ष वि. सं २०८० सालमा श्री देउराली राष्ट्रिय आधारभूत विद्यालय इच्छाकामना ७ मा कक्षा ७ मा पढ्दै गरेकी विमला तामाङलाई शैक्षिकसामग्री दिइएको थियो । वि. सं. २०७७ सालमा कोरोना महामारीका कारण कार्यक्रम नगरिएको सञ्चालक सापकोटाले बताए ।
सम्पूर्ण किताबले सातौँ वार्षिकोत्सवको अवसर पारेर दशैँ-तिहार पुस्तक मेलाको शुभारम्भ गरेको छ । मेलामा विशेष सहुलियतमा किताब बिक्रीवितरण गरिएको सञ्चालक सापकोटाले बताए ।
कार्यक्रममा धनराज गिरी, रजनी मास्के, परमेश आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई पत्रकार तुलमान गुरुङले सहजीकरण गरेका थिए ।